
माघ १९, सुर्खेत
सिम्ता गाउँ पालिका स्थायी ठेगाना भएका नेपाल कम्युनिस्ट नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य ऐनवहादुर चन्द भूमि सम्वन्धी समस्या समाधान आयोग सुर्खेतको अध्यक्षमा नियुक्त भएका छन् । उनलाई भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा गत माघ १५ गतेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो ।
आयोगको सदस्यमा नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य नन्दा गुरुङ र विज्ञ सदस्यमा जिल्ला कमिटी सदस्य डम्वर गरङ्जा नियुक्त भएका छन् । सरकारले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।
७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरिएको छ ।
७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली यसअघि नै नियुक्त भैसकेका छन् ।
आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने छन् ।
यसअघिका पद्मा अर्याल भूमि व्यवस्था मन्त्री भएकै बेला बनेको सूची नेकपा विभाजनपछि केही हेरफेर गरी प्रचण्ड माधव नेपाल पक्षमा लागेकाहरुलाई हटाएर नयाँ सूची बनाइएको छ ।
आयोगका जिल्ला अध्यक्ष र सदस्यहरु प्रायः सबै सोही जिल्लाका नेकपा नेता छन् । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउनेछन ।