काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही साता निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, ‘आउने २२ गते (शुक्रबार) सम्म सार्वजनिक गर्न सक्छौं ।’ एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै निर्णय नभइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले नतिजा सार्वजनिक हुनु अघि बोर्ड निर्णय गरे अनुसार नतिजा सार्वजनिक गरिने बताए । गत चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।