
माघ १९, सुर्खेत
नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरुले संसद बिघटनविरुद्ध सुर्खेत सहित देशभर संयुक्त विरोध प्रदर्शन गरेका छन ।
संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड रोग विरुद्ध गरेका काम प्रभावकारी नभएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन ।
सोमवार स्थानीय मंगलगढी चोकबाट शुरु भएको बिरोध प्रर्दशन बीरेन्द्रनगर बजार परिक्रमा गरि पिपल चौतारामा पुगेर सभामा परिणत भएको हो ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयले देशलाई संकटतर्फ लगेको भन्दै संविधान र लोकतन्त्र बचाउने जिम्मेवारी फेरी काँग्रेसको काँधमा आइपुगेको बताए । उनले ओली सरकार तानाशाही तरिकाले चल्दै गए धेरै दिन टिक्न नसक्ने ठोकुवा गरे ।
उनले नेकपाको सरकारले जनताले दिएको दुईतिहाई अभिमतलाई अपमान गरेको भन्दै अव यसको जवाफ नेपाली जनताले निर्बाचन मार्फत दिने वताए । पुर्वमन्त्री समेत रहेका नेता थानीले काँग्रेस निर्बाचनसंग कहिले पनि नडराउने भन्दै आगामी बैशाखमा चुनाब गरेर देखाउन प्रधानमन्त्री ओलीलाई चुनौती दिए ।
विरोध कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेकपा सत्ताको जित–हारको लडाईका कारण अहिले नेपाली जनताले दुख पाएको वताए । उनले कम्युनिष्टले जनताको पक्षमा कहिले पनि काम गर्न नसकेको भन्दै सुर्खेतमा भएका विकास निर्माणका कामहरु काँग्रेसकै नेतृत्वमा भएको दावी गरे ।
कार्यक्रममा नेपाल सरकारका पूर्व राज्यमन्त्री खड्कबहादुर बस्यालले संविधानलाई नै हत्या गर्ने गरी ओली सरकारले चालेको कदमको विरुद्धमा आन्दोलन गर्नु परेको बताए ।
कांग्रेसको राष्ट्रिय कार्यक्रम अनुसार देशव्यापी रुपमा गरिएको विरोध सभामा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ लगायतले संयुक्त रुपमा प्रदर्शन गरेका थिए ।