२०८३ वैशाख ८ , मंगलबार

सक्रिय राजनीतिबाट विश्राम लिएको एलिजाको घोषणा



काठमाडौं । अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी छन् । धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आगामी दिन समाजसेवामा सक्रिय हुने उल्लेख गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् ।

गौतम २०७९ माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले धरानका मेयर साम्पाङलाई भेटेर वृक्षारोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन् ।

‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ ।

श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु’, गौतमले लेखेकी छिन्, ‘दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु ।

यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।‘

प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार