बाँके । पूर्व– पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोलामा खसेको ट्रकका चालकलाई साढे चार घन्टापछि उद्धार गरिएको छ। मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान ४:५० बजे लमही नगरपालिका ९९ स्थित पुलबाट शिवखोलामा खसेको थियो।
ट्रक खसेपछि अगाडिको भाग जमिनमा धसिँदा चालक रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका– ६ का ३८ वर्षीय बसन्त लोहनीया सिटमै च्यापिएका थिए । ट्रक खोलामा खसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अमेलियका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाको टोली बिहान ५ बजे दुर्घटनास्थल पुगेको थियो।
ट्रकका लुम्बिनी संस्कृत नगरपालिका–७ का १८ वर्षीय प्रदीपकुमार लोहनीया भने हाम फालेर बाँचेका थिए। केहीबेरमा त्यहाँ बाँके र दाङबाट प्रहरीको टोली आइसकेको थियो। नेपाली सेनाको टोली पनि दुर्घटनास्थल पुगिसकेको थियो।
प्रहरीले ग्यास कटर, ग्रेन्डर मेसिन, गल र काठ काट्ने आरी जुटायो। उनले खुट्टा र छातीमा असर गरेको छ। नेपाली सेनाको टोलीले प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेज पठाइएको इन्सपेक्टर बर्तौलाले जानकारी दिए ।