
सुर्खेत ५, फागुन
बैतडीकी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरले हत्या अभियोग स्वीकार गरेका छन्। प्रहरीले पक्राउ गरेका छिमेकी तथा आफन्तसमेत रहेका १८ वर्षीय दिनेश भट्टले बदला लिन आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका हुन्।
भागरथीका बुबाले आफ्नो नजिकको नातेदार पर्ने एकजनालाई बलात्कार गरेको र त्यसको बदला लिन आफूले त्यस्तो अपराध गरेको भन्ने बयान दिएको अनुसन्धानमा संलग्न अधिकारीले बताए। एक वर्षअघि घटेको उक्त घटना गाउँमै मिलाइएको दिनेशको दाबी छ। मृतक भागरथीका बुबाको भने मृत्यु भइसकेको छ। प्रहरीले यस विषयमा प्रमाण बुझ्ने काम भइरहेको जनाएको छ।
पक्राउ परेका किशोरलाई प्रहरीले बुधबार बैतडी सदरमुकाम लगेको छ। जिल्ला प्रहरी कार्यालयवाट उनलाई सार्वजनिक गर्ने तयारी भइरहेको सूदुरपश्चिमका डीआईजी उत्तम सुवेदीले बताए। घटनाको १३औँ दिन मंगलबार उनलाई प्रहरीले पक्राउ गरेको थियो।
उनी भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन्। घटनाका दिन उनी विद्यालयबाट दिउँसो साढे १२ बजे फर्किएको पाइएको प्रहरीले बताएको छ। विद्यालयबाट निस्किएका उनी जंगलमा भागरथीलाई ढुकेर बसेका थिए। दिउँसो २ बजेपछि भागरथी विद्यालयबाट फर्किने क्रममा उनले पछ्याएको र हुत्याएर खोल्सामा लडाएको बयान दिएका छन्।
भागरथीको घाँटी थिचेर हत्या गरेको बताएका उनले बलात्कार भने नगरेको दाबी गरेका छन्। सुरुमा प्रयास गरे पनि भागरथी महिनावारी भएका कारण बलात्कार नगरेको उनले बताएको ती अधिकारीले वताए ।