
सुर्खेत ९, सुर्खेत
केपी ओली पक्षीय अनेरास्ववियु सुर्खेत आक्रामक रुपमा संगठन निर्माणमा जुटेको छ। ‘सुर्खेत जिल्लामा अनेरास्ववियुको संगठन सुदृढीकरण अभियान’ नाम दिईएको कार्यक्रमअन्तर्गत जिल्लाका सवै पालिकाहरुमा आगामी फाल्गुन १२ गतेसम्म कमिटीहरु गठन गरिसक्ने लक्ष्य राखिएको छ।
‘संगठन सुदृढीकरण अभियान अन्तर्गत प्रत्येक मावि, उच्च मावि र क्याम्पस ईकाई कमिटीहरु निर्माण गर्ने अभियान चलाएका छौ,’ अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाहीले अभियान वारे जानकारी दिदै भने, ‘फाल्गुन १२ गतेसम्म सवै ठाउँमा कमिटी निर्माण गरिसक्छौ।’
संयोजक शाहीले कमिटी निर्माण गर्न जाँदा आफुहरुले सोचे भन्दा वढी विद्यार्थीहरु कार्यक्रममा सहभागी भएको वताए। ‘केपी ओली क्रेज आम विद्यार्थी माँझ पुगेको रहेछ,’ उनले भने,’विद्यार्थीहरुको उत्साहजनक सहभागीताले हामीहरुमा झनै उर्जा थपिएको छ।’ स्थानीय स्तरमा अनेरास्ववियुको विभाजनको असर कत्तिपनि नपरेको, वरु उल्टै अन्य संगठनमा आवद्द विद्यार्थीहरु पनि कमिटीमा वस्न ईच्छुक भएको दाबी गरे ।
आईतवार अनेरास्ववियु सुर्खेत शिक्षा क्याम्पस ईकाई कमिटीको गठन गरिएको छ। नरवहादुर कठायतको अध्यक्षतामा गठन भएको १११ सदस्यीय कमिटीको सचिवमा रेशम सलामी चयन भएका छन् । अनेरास्ववियुका सचिवालय सदस्य प्रेम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्यहरु चक्र शाही र गणेशबहादुर शाही उपस्थित थिए।
यस्तै, आईतवार नै मध्यपश्चिम विश्व विध्यालय अन्तर्गतको व्यवस्थापन संकायमा अनिल विकको अध्यक्षतामा ६१ सदस्यीय क्याम्पस ईकाई कमिटी गठन गरिएको छ। अनेरास्ववियुका सचिवालय सदस्य प्रेम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धुपेन्द्र शाही, गणेशवहादुर शाही र निकुञ्ज पाण्डे उपस्थित थिए।
यसैबीच, गुर्वाकोट नगरपालिका वडा नं ९ मा रहेको श्री जन सेवा माध्यामिक विद्यालय अनेरास्ववियु गुर्भाकोट नगर कमिटीका संयोजक दिनेश वलीको अध्यक्षतामा भएको भेलाले ४१ सदस्यीय बिद्यालय स्तरीय प्रारम्भिक कमिटी गठन गरेको छ।
उक्त प्रारम्भिक कमिटीको अध्यक्षमा पवनसिं परियार, उपाध्यक्षमा राधिका दमाई, सचिवमा बिनोद वली, भुमिसरा राना, सह सचिवमा नबिना पुन र मनिशा थापा, कोषाध्यक्षमा याममाया शाही रहेका छन् ।
अनेरास्ववियू सुर्खेतको संगठन निर्माण अभियान अन्तर्गत नै चिंगाड गाउँपालिका वडा नं ४ को श्री पालिका माध्यामिक विद्यालयमा २१ सदस्यीय अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन गरिएको छ। अनेरास्ववियू केन्द्रीय कमिटीका सदस्य निर्मल अधिकारी र किरण तिवारीको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता अनेरास्ववियु चिंगाडका संयोजक प्रदीप रानाले गरेका थिए।
यस्तै, नेपाल राष्ट्रिय सामुदायिक माध्यामिक विद्यालय करेखोलामा तिलक चपाईको अध्यक्षतामा अनेरास्ववियुको ३६ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको छ। कमिटी गठन अनेरास्ववियुका केन्द्रीय सदस्य निकुञ्ज पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो।
जनसेवा माध्यमिक विद्यालय घुश्रामा अन्जु विसीको अध्यक्षतामा ३३ सदस्यीय अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन भएको छ। अनेरास्ववियुका केन्द्रीय सदस्य आशिष रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियुका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो।
यस्तै, वीरेन्द्रनगरको कोपिला माध्यमिक विद्यालय पर्सेनीमा पारस शाहीको अध्यक्षतामा २७ सदस्यीय अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन भएको छ। अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभात पोखरेलको प्रमुख आतिथ्यता र गणेशवहादुर शाहीको विशेष आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो।
