२०८३ वैशाख ३ , बिहीबार

एमाले संसदीय दलको वैठक चैत २२ गते : एमालेका मन्त्रीहरुको त्यसअघि नै राजीनामा आउने संकेत



चैत १८, सुर्खेत
कर्णाली प्रदेशको नेकपा एमाले र सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक वोलाएका छन् ।

नेकपा एमालेले चैत २२ गते र माओवादी केन्द्रले त्यसको अघिल्लो दिन २१ गते बैठक बोलाएको हो । वैठक आगामी चैत २२ गते बोलाईएको र उक्त संसदीय दलको बैठकमा एमालेका सबै सांसदलाई उपस्थित हुन सूचना गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले वताए । बैठकमा आगामी सरकार गठनबारे छलफल हुने उनले जानकारी दिए ।

माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले दलको विधान पारित गरिने एजेन्डा रहेको वताईन । सचेतक नेपालीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा अब कसरी अगाडि वढ्ने भन्ने सम्वन्धमा छलफल गरिने र दलभित्रको नयाँ जिम्मेवारीबारे समेत छलफल हुने जानकारी दिईन ।

प्रदेश सभाका जम्मा ४० सदस्य मध्ये २० सिट एक्लै एमालेको रहेको छ । नेकपा माओवादी केन्द्रवाट १ जना सांसद धर्मराज रेग्मी एमाले प्रवेश गरेकाले प्रदेश सभामा एमालेले प्रष्ट वहुमत प्राप्त गरेको छ ।

राप्रपाको १ सिट एमाले संसदीय दलका नेता यमलाल कँडेललाई नै प्राप्त हुने आँकलन गरिएको छ । यसअघि प्रदेश सभाको निर्वाचन लगत्तै राप्रपाले यमलाल कडेल मुख्यमन्त्री वन्ने शर्तमा आफ्नो समर्थन हुने लिखित सहमति दिईसकेको थियो । तर, केन्द्रको समिकरणले मुख्यमन्त्री पद माओवादी नेता महेन्द्रवहादुर शाहीले हात पारेका थिए ।

अब सरकार बचाउन मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता छ । प्रदेशसभाको बहुमत सदस्यहरुले विश्वासको मत दिएमा मात्र उनको सरकार कायम रहन्छ ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले संसद वैठक वोलाउन आँलटाँल गरेको र विश्वासको मत लिनेतर्फ कुनै कदम नचालेको भन्दै प्रदेश प्रमुख कलौनीले शाहीलाई छिटो विश्वासको मत लिने या राजीनामा दिएर मार्ग प्रशस्त गर्ने अर्थ लाग्ने गरि मंगलबार एक विज्ञप्ति जारी गरेका थिए ।

शाहीलाई प्रदेश प्रमुखले वोलाएरै सम्झाउन खोजेका थिए। तर मुख्यमन्त्री शाही प्रदेश प्रमुखले वोलाउँदासमेत गएनन् । मुख्यमन्त्रीले अटेर गरेपछि विज्ञप्तिमार्फत नेकपा एमालेको संसदीय दलले दिएको समर्थन फिर्ता भैसकेको उनलाई सम्झाईएको प्रदेश प्रमुख कार्यालय श्रोतले जानकारी दियो ।

प्रदेश प्रमुख कार्यालयले चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र प्राप्त भएको जानकारी संविधानको धारा १८८ को उपधारा (२) वमोजिम ध्यानाकर्षण–पत्र प्रेषित गरिएको उल्लेख गरिसकेको छ ।
कर्णाली प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य भएको आगामी वैशाख ८ गते ६ महिना पुरा हुदैछ ।

प्रकाशित मिति : २०७७ चैत १८ गते बुधबार