
चैत १८, सुर्खेत
उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। रिट निवेदकहरुको माग अनुसार नै उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
गत फागुन १७ गतेदेखि १९ गतेसम्म उक्त विश्वविद्यालय अन्तर्गत कानुन संकायको स्नातक तह बीएएलएलबी अध्ययनका लागि प्रवेश परीक्षा लिएको थियो । तर, उक्त प्रवेश परीक्षा विवादित भएपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नतिजा नै रद्द गरी चैत २२ गतेका लागि पुनः प्रवेश परीक्षा गर्ने मिति तोकेको थियो ।
कार्यकारी परिषद्को निर्णयविरुद्ध प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उनीहरुले पहिलेकै प्रवेश परीक्षाको नतिजालाई मान्यता दिन र पुनः प्रवेश परीक्षा रोक्न माग दावी गरेका थिए ।