२०८३ वैशाख ३ , बिहीबार

अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं जिल्ला सम्मेलन सम्पन्न



चैत ३०, सुर्खेत

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन(क्रान्तिकारी) सुर्खेतको २३औं जिल्ला सम्मेलन ‘दलाल पूजीवादी शिक्षाका विरुद्धमा हाम्रो आन्दोलन ! सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि ‘२३औं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रूद्र भट्टराईले बिगतका हरेक क्रान्ति र आन्दोलनमा बिध्यार्थीले अग्र र अहम भुमिका खेलेको वताए । उनले एकीकृत जनक्रान्तिमा आफ्नो संगठनले अहम भूमिका खेल्दै आएको वताउँदै आगामी दिनमा समेत संगठनको भूमिका कमजोर हुन नदिने वताए ।

भट्टराईले, ‘क्रान्तिका कथित नायकहरुले अहिलेसम्म विध्यार्थीलाई धोका मात्र दिएका छन । धोका दिनेका बिरुद्ध आन्दोलनमा उत्रनु पर्छ र बैज्ञानिक समाजवादी शिक्षा र बैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको आन्दोलनमा अहम भुमिका खेल्नु पर्छ ।’

विशेष अतिथिको रुपमा आफ्ना भनाइ राख्दै नेकपा सुर्खेत जिल्ला इञ्चार्ज ध्रुबले हेर्दा सामान्य जस्तो लाग्न सक्ने भएपनि जनताको अवस्था कहालीपूर्ण भएको वताए । उनले गाँस, बाँस, कपास,स्वास्थ्य, शिक्षा, रोजगारी निशुल्क पाउनु जनताको नैसर्गिक अधिकार भएको दाबी गरे । शिक्षा,न्याय, रोजगार लगायतका हरेक कुरामा राज्यले जनता माथि विभेद गरिरहेको उनको आरोप छ ।

जिल्ला ईन्चार्ज ध्रुवले यो अवस्थालाई परिवर्तन गरि न्यायपूर्ण समतामुलक बैज्ञानिक समाजवाद स्थापना गर्नु अति आवश्यक भैसकेको दाबी गरे ।

नेकपा सुर्खेतका जिल्ला सचिव यामराजले एकीकृत जनक्रान्तिको माध्यमबाट बैज्ञानिक समाजवाद स्थापना गर्न विध्यार्थीहरुले अहम भुमिका खेल्नु पर्ने सुझाव दिए ।

अनेरास्ववियु क्रान्तिकारीका भेरी कर्णाली संयोजक हर्कवहादुर विकले सडेगलेको विभेदपूर्ण दोहोरो शिक्षा प्रणाली खारेज गरेर बैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नु नै संगठनको मुख्य उद्देश्य रहेको वताए ।

कार्यक्रममा उक्त संगठनका केन्द्रीय सदस्य प्रेम शाही, भेक सदस्य धनजित महर र लोकेश जोशी, अखिल नेपाल शिक्षक संगठन सुर्खेतका अध्यक्ष हरिलाल महतारा, अनेमसंघ क्रान्तिकारी सुर्खेतका संयोजक जयसरा बराल, सहिद परिवार समाज भेक संयोजक ऐना लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरु गरिएको सम्मेलनमा संगठनका नीति तथा भावि कार्यक्रम सहितको प्रतिवेदन पास गरिएको थियो ।

जिल्ला सम्मेलनले तुलाराज तिरुवाको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। कार्यक्रम तुलाराज तिरुवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७७ चैत ३० गते सोमबार