२०८३ वैशाख ५ , शनिबार

जेष्ठ १५ भित्रै सहरी नापी सकेर लालपुर्जा वितरण गर्छाैः नगर प्रमुख सुवेदी



चैत ३०, सुर्खेत
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले विकास निर्माण र सामाजिक सुरक्षाका क्षेत्रमा गरिरहेको कामहरु वारे सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

’सार्वजनिक सेवाको गुणस्तरीयताका लागि सार्वजनिक सुनुवाई’ भन्ने मुल नाराका साथ वीरेन्द्रनगरमा सोमवार आयोजित कार्यक्रममा नगरपालिकाले आफुले थालेका कामहरु र भएका प्रगतिहरुको विवरण सार्वजनिक सुनुवाई मार्फत सार्वजनिक गरेको हो ।

कार्यक्रममा वीरेन्द्रनगर पालिकाका प्रमुख देवकुमार सुवेदीले सकेसम्म जेष्ठ १५ गतेभित्रै सहरी नापी सकेर लालपुर्जा वितरण गरिने आफुहरुको योजना रहेको दाबी गरे । चालुवर्षदेखि ढलनिकासको काम दिगो योजनाका साथ सुरु गरिएकोे वताउँदै आगामी समयमा यसको समस्या नहुने जिकिर गरे ।

उनले टुहुरा वालवालिकाहरुका लागि नगरपालिकाले छात्रवृतीको योजना ल्याउने जानकारी दिए । असहाय र अशक्तहरुलाई नगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा अझै कसरी प्रभावकारी वनाउने भन्नेमा नगरपालिका लाग्ने प्रतिवद्धता जनाए ।

उठेका सवालहरुको जवाफ दिदै उप प्रमुख मोहनमाया ढकालले न्यायको पहुँचमा सवै नभएको भन्दै आगामी दिनमा यसका लागि आफुहरुले थप प्रयत्न गर्ने वताईन । उनले नगरपालिकामा निकट भविष्यमा एकजना कानुनविद राख्ने निर्णय भएको जानकारी गराउँदै घटनावारे सुक्ष्म अध्ययन गरेर सर्वसाधारणलाई न्याय दिलाउने प्रतिवद्धता जनाईन ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सर्वसाधारण र नगरपालिकावीच अन्तकक्रिया समेत भएको थियो । उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका होमवहादुर सलामीले नगरपालिकाले वर्षभरीको आयव्यय विवरण छापाको माध्यमवाट ल्याउनुपर्ने सुझाव दिए ।

वीरेन्द्रनगर नगरपालिका ५ वस्ने सुनिता गन्धर्वले नगर भित्रका वाटोहरुको अवस्था निकै दयनीय भएको भन्दै ध्यानाकर्षण गराईन। दलित लक्षित वजेटसमेत पर्याप्तरुपमा नआएको उनको गुनासो थियो। सहभागीहरुले फरक क्षमता भएका व्यक्तिहरुका लागि नगरपालिकाले ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले नगरपालिकासंग जोडिएका सुशासनसंग सम्वन्धित विषयहरुमा उठेका सवालहरुको जवाफ दिएका थिए ।

प्रकाशित मिति : २०७७ चैत ३० गते सोमबार