
चैत ३०, सुर्खेत
दैलेखवाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य एवं चर्चित कानुनविद धर्मराज रेग्मीले नेकपा माओवादी केन्द्रले उनलाई सांसद पदवाट हटाएपछि सोमवार एक सार्वजनिक अपिल जारी गर्दै माओवादीले शिला खोज्नुपर्ने ठाउँवाट आफुले चुनाव जितेर देखाईदिएको वताएका छन् ।
रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएपछि उक्त निर्णयको उनले कडा शव्दमा भर्त्सना गरेका छन् ।
आफु २०७४ सालको निर्वाचनमा दैलेख १(क) बाट बाम गठबन्धनको साझा उम्मेदवारको रूपमा एउटै घोषणापत्र लिएर प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएको अपिलमा उल्लेख छ ।
उनले तत्कालीन नेकपा माओवादी केन्द्रको प्रस्ताव र नेकपा एमालेको समर्थनमा उम्मेद्वार भएको भन्दै आफु माओवादी र एमालेको साझा उम्मेदवार भएको उल्लेख गरेका छन् । दैलेखका जनताको भरोसाले दैलेखमा निर्वाचन जित्ने माओवादी केन्द्रको पहिलो जनप्रतिनिधि आफु भएको भन्दै दैलेखमा माओवादीको संगठन निकै कमजोर रहेको स्वीकार गरेका छन् ।
उनले दैलेखको कुनैपनि वडामा माओवादीले वडा अध्यक्ष/ सदस्य समेत जित्न नसकेको र आफु माओवादीको शिला खोज्नुपर्ने ठाउँवाट चुनाव जितेर आएको पात्र भएको सगर्व उल्लेख गरेका छन् ।
उनले अपिलमा भनेका छन,’दैलेख त्यस्तो जिल्ला हो, जहाँबाट कमरेड प्रचण्ड र बाबुराम लखेटिएका थिए । त्यस्तो जिल्लामा मेरो नेतृत्वमा हामीले कुशलतापूर्वक निर्वाचनमा सफलता हासिल गरेका थियौं । चुनावको दौरानमा द्वन्द्वका विभत्स घटनाहरुको मैले जिम्मेवारपूर्वक दैलेखी जनतासमक्ष माफी मागेको छु ।’
रेग्मीले आफुलाइ दैलेखी जनताले खुशी र भरोसाले मतदान गरेका भन्दै जरुरत परे फेरि जनताबाट अनुमोदन हुने नैतिक तागत भएको प्रष्ट पारेका छन् ।
’जनताबाट प्रत्यक्ष निर्वाचित सांसदको पद खारेज गर्दा स्पष्टीकरण समेत लिने अनिवार्य कानुनी ब्यवस्थाको धज्जी उडाएर बाटो– बाटोबाट जननिर्वाचित सांसदको पद कमरेड प्रचण्डको सनकमा फालिने ब्यवस्था लोकतन्त्र होइन,’ प्रचण्ड प्रति आक्रोशित हुदै रेग्मीले भने,’लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन, त्यसो त युद्धताका पार्टीमा फरकमत राख्ने नेता कार्यकर्ता माथि कोर्टमार्सल गरिन्थ्यो । लोकतन्त्रमा त्यस्तो गर्न मिल्दैन ।’
आफुलाई ३५ हजार दैलेखी मतदाताले निर्वाचित भएको जनप्रतिनिधि भएको वताउदै कसैको ठाडो आदेशले पदच्युत गर्न नमिल्ने उनले दाबी गरे । प्रदेशसभा सदस्यका रूपमा आफु ३ (बा“की ३ पेजमा) बर्ष कर्णालीबासी जनताको सर्वोत्तम हित, लोकतन्त्र, सुशासन, भ्रष्टाचार बिरोधी अभियान सञ्चालन र विधिको शासनको पक्षमा समर्पित रहेको उल्लेख गरेका छन् ।
कर्णाली प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएकोतर्फ संकेत गर्दै रेग्मीले भने,’मैले सभामा निर्भीक रूपमा जनताको पक्षमा आवाज बुलन्द गरेँ । सत्ताको अँध्यारो कोठरी भित्र घनिभूत रूपमा बढेको भ्रष्टाचारको बिरोध गरेँ।’
आफुले प्रदेश सभा सदस्यको रुपमा उल्लेखनीय काम गरेको भन्दै सरकारलाई प्रभावकारी बनाउन र समृद्ध कर्णालीको चाहाना पूरा गर्न आफ्नै पहलमा चाईना रेल्वेसँग हिल्सा सुर्खेत फास्ट ट्र्याक निर्माण सम्बन्धी काम अगाडि बढाएको, आफ्नै पहलमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको चीन भ्रमण सम्पन्न गराएको अपिलमा उल्लेख छ ।
रेग्मीले चीनको सिचुवानमा सम्पन्न “बेल्ट एन्ड रोड इनिसिएटिभ“ कन्फ्रेन्समा आफुले प्रदेशको प्रतिनिधित्व गरेको, कर्णाली प्रदेशमा बाह्य लगानी भित्र्याउन अधिकतम प्रयत्न गरेको र सुर्खेत विमानस्थलको धावनमार्ग बिस्तारका लागि संघीय सरकारसँग समन्वय गर्न प्रारम्भिक वातावरण बनाउन निकै प्रयत्न गरेको फेहरिस्त पेश गरेका छन् । एउटा सदस्यका रूपमा सभा, विधायन समिति, कार्यब्यवस्था समितिमा सक्रिय सहभागिता रहेको कुरा तथ्यहरुबाट स्पष्ट रहेको भन्दै आफुले हमेशा पार्टीभन्दा माथि जनता र राष्ट्र हो भन्ने मान्यता राखेको उल्लेख गरेका छन् ।
’काठमाण्डौंमा जमेको वकालत चटक्कै छोडेर दैलेखमा पहिले नै हार्ने घोषणा गरिएको निर्वाचन लड्न आउदा दैलेखी जनताको मुहारमा खुशी फर्काउने अभिलाशा बोकेको उनको भनाइ छ। आफु निर्वाचित भएपछिको लडाइँ त्यही जनअपेक्षाको कडी अनुरुप भएको उनको भनाइ छ ।
नेकपा विवाद प्रचण्डको तत्कालै प्रधानमन्त्री हुने र माधव कमरेडको अध्यक्ष हुने लालसाको परिणामस्वरुप उत्पन्न कृत्रिम विवाद भएका र त्यसको प्रहसन काठमाडौमा गरिएपनि रिमोट ब्रसेल्स र नयाँदिल्लीमै रहेको रेग्मीले गम्भीर खुलासा गरेका छन ।
उनले वैदेशिक चलखेलमा माधव प्रचण्ड लागेको भन्दै अघि भनेका छन,’पार्टी नेतृत्वमाथि कम्फरटेवल कमरेडहरुले चौतर्फी हमला गरिरहेकै बखत हामीले पार्टी र सरकारको नेतृत्वको रक्षाको खातिर प्रधानमन्त्री केपि वलीलाई समर्थन गरेका हौं ।’ घटनाक्रम तीव्रतर रूपमा विकास हुँदै गएको र प्रधानमन्त्रीले अनेक बाह्य प्रतिकूलतालाई जनता, कार्यकर्ता र घरेलु शक्तिहरूको तागतमा निस्तेज पारेको प्रष्टाएका छन् ।
‘माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर हामीले उनै ओलीलाई सहयोग गर्दा प्रचण्डको कारवाहीको भागिदार हुनु पर्ने ? प्रचण्डले एमालेको मत लिएर चुनाव जित्न हुने, हामीले चाहिँ एमाले तिर उभिदा पद छोड्नु पर्ने ? आफुले एमालेकै चुनाव चिन्ह सुर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लङ्घन नहुने, हामीले सूर्यको पक्षमा उभिदा पार्टी अनुशासन उल्लङ्घन हुने,’ प्रचण्डलाई कडा प्रश्न गर्दै रेग्मीले भने,‘वाह कमरेड ! तपाईंले सर्वाेच्च अदालतमा पुनरावलोकन दर्ता गर्दा नेकपा बनाइदिन अनुनय गर्ने अनि हामीलाई चाहिँ माओवादी बनेनन् भनेर छ्डी लगाउने यो कुन नैतिकता हो कमरेड !’
आफु सदनमा हुने र नहुने कुराले जनताप्रतिको उतरदायित्वमा कमी नआउँने भन्दै आफु जनतासँग समर्पित रहिरहने वताए ।
अपीलमा रेग्मीले प्रदेश सभा सदस्य निर्वाचित गराउने दैलेखी जनता, मतदाता, सञ्चार माध्यम, प्रदेश सभाका पदाधिकारी, कर्मचारीहरू, राजनीतिक दल, समर्थक, शुभचिन्तक र प्रियजनहरूप्रति आभार तथा धन्यवाद प्रकट गरेका छन् ।