
बैशाख १, सुर्खेत
सुर्खेतको चौकुने गाउँपालिकामा नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गुटुमा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले नयाँ वर्ष २०७८ सालले नेपालीहरुलाई विकासको वाटोमा लाग्न दृढ शक्ति प्रदान हुने विश्वास गरे ।
उनले नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सु– स्वास्थ्य, दिर्घायुका साथै उत्तरोत्तर प्रगतिको कामना गरे । नयाँ वर्षमा नयाँ जोश, नयाँ जाँगर तथा नयाँ उमंगका साथ समाज विकासमा लाग्न सबैलाई प्रेरणा प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।
नयाँ वर्ष संगै चौकुनेको विकास निर्माणका कामहरुलाई पनि तीव्रताका अगाडि बढाई बाँकी रहेको अवधि भित्र समृद्ध चौकुनेको आधारशिला निर्माण गर्ने गरि काम भइरहेको उनले वताए । अब आउने वर्ष हाम्रो रिजल्टको वर्ष समेत भएको भन्दै अध्यक्ष शाहीले यहि उमंगका साथ विकास निर्माणका कामहरुमा सक्रिय सहभागी हुन सबैलाई उनले आव्हान गरे ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका नेता गजराज बयक, नेपाली काङ्ग्रेसका जिल्ला कार्य समिति सदस्य गजराज जोशी, नेपाली काङ्ग्रेस चौकुनेका पार्टी सभापति मोहन थापा, नेकपा माओवादी केन्द्रका नेता कस्तुरे कामी, जनमोर्चाका नेता भवानी प्रसाद जोशी, नेमकिपाका नेता भिमबहादुर सिजापती, मंगोल अर्गनाइजेसनका रतन दर्लामी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरु, शिक्षक, स्थानीय व्यवसायी, बुद्धिजीवीहरु लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई पदमराज शर्माले संचालन गरेका थिए ।