
सुर्खेत ४ जेठ
शुभलक्ष्मी अस्पताल प्रालिले अक्सिजनको अभावमा नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको भन्दै सुर्खेत उपत्यका भित्र अक्सिजन कन्सन्ट्रेटर मार्फत सेवा दिन सुरु गरेको छ।
अस्पतालमा रहेका ३ वटा अक्सिजन कन्सन्ट्रेटरमार्फत सेवा सुरु भएको अस्पतालका प्रवन्ध निर्देशक ओमप्रकाश काफ्लेले जानकारी दिए। मेसिन वाहेक अस्पतालमा ५ वटा अक्सिजन सिलिन्डर समेत रहेको उनको भनाइ छ।
अक्सिजन मेसिनले अक्सिजन लेभल ७५ प्रतिशत भन्दा माथि भएका विरामीहरुलाई फाइदा गर्ने निर्देशक काफ्लेले वताए। ‘अहिले मेसिन विरामी राखेकै ठाउँमा लगेर जडान गरिदिएका छौ, सेवा शुल्क प्रती घण्टा १ सय मात्रै लिने गरेका छौ,’ निर्देशक काफ्लेले भने। तर, विरामीको आर्थिक अवस्था हेरि केही समयका लागि निशुल्क सेवा समेत दिनु परेको उनको भनाइ छ।
दुई वर्ष अघि देखि संचालनमा आएको यो अस्पताल सुर्खेतको वीरेन्द्रनगर ८ आवास क्षेत्रमा रहेको छ। अस्पतालमा रहेका ७ मध्ये ३ वटा भेण्टिलेटर सहितको आइसियु सुविधा समेत रहेको उनले वताए।
कोरोना संक्रमित भै मानिसहरुले मृत्युवरण गरेतापनि सरकारले प्राईभेट अस्पताललाई अक्सिजन नदिएको कारण कोरोनाको उपचार गर्न नसकिएको काफ्लेको भनाइ छ। अस्पतालमा अन्य सवै पूर्वाधार भएपनि अक्सिजन आपूर्तिमा आएको समस्याले गर्दा कोरोना संक्रमितहरुको उपचार गर्न नपाएकोमा काफ्लेले दुखेसो पोखेका छन्।