
सुर्खेत १३ जेठ
पार्टी विरोधी गतिविधि वढ्दै गैरहेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले एकतालाई भाड्ने र पार्टी विभाजनलाई वल पुग्ने काम नगर्न सम्वन्धित पक्षलाई अपील गरेका छन्।
आज एक अपील जारी गर्दै अध्यक्ष शाहीले पार्टी आन्तरिक जीवनमा संकटहरु बढ्दै गइरहेको भन्दै बार्ता र संवादबाट समस्याको समाधान गर्नु आजको आवश्यकता भएको प्रष्ट पारेका छन्। उनले नेतृत्व तहमा बसेकाहरुले वार्ता,सम्वाद र छलफलको माध्यमबाट पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाउँदै जानुपर्नेमा जोड दिएका छन्।
‘पार्टीका नेताहरु र आम कार्यकर्ताको चाहना पनि पार्टी एकता होस् भन्ने नै छ र हुनु पनि पर्छ,यसैमा सबैको भलो पनि छ,’ शाहीले जारी गरेको अपीलमा भनिएको छ, ‘सबैको आशा र भरोसा साथै आमुल परिवर्तनको पक्षमा विगतदेखि निरन्तर संघर्ष गर्दै आएको पार्टी नेपाल कम्यूनिष्ट पार्टी (एमाले) नै हो।’
विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका शाहीले एमाले पार्टीको आगामी दिनमा समेत विकल्प नभएको वताए। उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुको पार्टी एकताको मर्म र भावनालाई आत्मसाथ गर्दै एकतालाई थप सुदृढ गरी जिम्मेवारीपूर्वक अगाडि बढ्नु सबैको कर्तव्य भएको वताए।
नेकपा एमाले सुर्खेतका सचिव मोहनसिं वडुवालले केही दिन अघि नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूसंगै जारी गरेको विज्ञप्ति प्रती संकेत गर्दै अध्यक्ष शाहीले यदाकदा पार्टीका केही नेता तथा कार्यकर्ताहरु नै पार्टी एकतालाई भाड्ने र पार्टी विभाजनलाई बल पुग्ने गरि गतिविधि र क्रियाकलापहरु संलग्न भएको भन्दै असन्तुष्टि प्रकट गरेका छन।
अपिलमा केही केही नेता तथा कार्यकर्ताहरु पार्टी विभाजनमा लानु नै आफनो कर्तव्य झै ठानेर पार्टीका विरुद्धमा अनेक गतिविधिहरु गर्ने, कार्यकर्ता पंक्तिलाई भ्रमित तुल्याउँने गरिरहेको उल्लेख छ। शाहीले पार्टीका नेता तथा कार्यकर्ताहरु यस्ता गतिविधिमा नलाग्न, नगर्न, नगराउन हुन निर्देशन समेत गरेका छन्।
अपीलमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले नेपालमा पारेको प्रभावलाई मध्यनजर गरी यसको नियन्त्रण गर्ने अभियानमा आआफ्नो ठाउँबाट लाग्नसमेत आब्हान गरेका छन्।