२०८३ वैशाख ४ , शुक्रबार

एमाले अध्यक्ष शाहीको नेतृत्वमा यसरी दवाईयो सुर्खेत विद्रोह



विद्रोही नेता मोहोन बडुवाल

सुर्खेत १६, जेठ

राजनीतिमा कोही सधै शत्रु र मित्र हुदैन भन्ने कुराको चरितार्थ सुर्खेतमा मोहोनसिं वडुवालको नेतृत्वमा एमालेमा भएको विद्रोहले प्रमाणित गरेको छ। सुर्खेतमा नेकपा एमाले विभाजन गर्ने मनसायले एमाले पार्टी सचिव वडुवालको नेतृत्वमा जेठ १४ गते शुक्रबार साँझ एक कमिटी निर्माण गरेको सार्वजनिक गरियो। नेकपा एमाले जिल्ला कमिटी सुर्खेत नामाकरण गरिएको कमिटीमा पार्टी सचिव मोहोन वडुवालको अध्यक्षतामा २२७ सदस्य रहेको जिल्ला कमिटी सामाजिक संजालमा भाईरल वन्यो।

केही पुराना र धेरै नयाँ एमाले कार्यकर्ताहरु समेटेर सार्वजनिक गरिएको कमिटीमा सुर्खेतका सवै पालिकावाट कार्यकर्ताहरु समेटिएको थियो। राम्रो तैयारी गरेर सकेसम्म धेरै कार्यकर्ताहरु समेट्ने योजना अनुसार नै कमिटी निर्माण गरिएको थियो।

शुक्रबार साँझ कमिटी सार्वजनिक भएसंगै वधाईको ओईरो चल्यो। वधाई दिनेहरुमा एमाले भन्दा माओवादी र कांग्रेस समर्थक नेता र कार्यकर्ताहरु वढि थिए। यो तहको विग्रहले आफ्नो पार्टीलाई आउने चुनावमा फाईदा हुने आँकलन गरेरै उनीहरू मोहोन वडुवालको टिमलाई वधाई दिईरहेका थिए।

तर, भोलिपल्ट (शनिबार) विहानै देखि कमिटीमा राखिएकाहरुवाट आफु कमिटीमा नरहेको भन्दै सामाजिक संजालमा विरोध सुरु हुन थाल्यो। नाम सार्वजनिक हुन बित्तिकै वीरेन्द्रनगर १० का निरक ओलीले आफुलाई कमिटीमा राखिएकोमा विरोध जनाउदै फेसवुक स्टाटस लेखे। शनिबार दिनभर कमिटीमा नरहेको जानकारी गराउदै सामाजिक संजाल रंगिईरह्यो।

सुर्खेत जिल्लाभर कार्यकर्ताहरुमा भएको विचलन रोक्न नेताहरु आ आफ्ना ठाउँमा खटिए। काठमाडौंमा रहेका पार्टी अध्यक्ष धुर्वकुमार शाहीले सवै पालिकामा नेतृत्वमा रहेकाहरुलाई सार्वजनिक गरिएको कमिटीका सदस्यहरुलाई फर्काउन युद्धस्तरमा परिचालन गरे।

आफु २ दिन पछि सुर्खेत आउने र त्यसवेलासम्म पार्टी विरोधी गतिविधि निस्तेज गर्न भन्दै सिम्तामा कविन्द्र केसी, लेकवेसीमा गगन सुनारलाई खटाए। गुर्वाकोट र भेरीगंगा आफैले कमाण्ड गरे। पश्चिम चौकुनेमा हरि अधिकारी, धिरवहादुर शाही खटिए। वराहमा धनश्याम पाण्डे र ताराकेशर गौतम सक्रिय वने। स्वास्थ्य अवस्थाका कारण बाहिर निस्कन नसके पनि डण्डीप्रसाद शर्मा फोनवाटै दिनभर सकृय रहे।

पंचपुरी र वीरेन्द्रनगरमा समेत स्थानीय कार्यकर्ताहरु दिनभर खटे। अध्यक्ष शाही आफैले सवै पालिकाहरुको रिपोर्ट लिदै असन्तुष्टहरुलाई सम्झाउन थाले। उनले पार्टी लाईन अनुसार अघि वढ्न सवैलाई आग्रह गर्दै पार्टीमा अन्याय हुन नदिने ढाँडस दिलाए। अध्यक्ष शाहीको निर्वाचन क्षेत्र पहिला क्लियर हुँदै गयो।विस्तारै समानान्तर कमिटीमा राखिएका सवैजसो कार्यकर्ताहरु विज्ञप्ति जारी गर्दै समानान्तर गतिविधिवाट आफुहरु अलग भएको घोषणा गरे।

समानान्तर कमिटीमा राखिएका धेरै नामहरु विगतमा माधवकुमार नेपाल टिममा चिनिएकाहरु नै थिए। उनीहरूले केपी ओलीले गरिरहेका कामहरुलाई प्रतिगमन भएको भन्दै विगत लामो समयदेखि कांग्रेस माओवादीसंगै आन्दोलनमा सहभागी भैरहेका छन्।

यसकारण उनीहरूलाई एमाले संस्थापन टिमका नेताहरुले सम्झाउन सक्ने अवस्था थिएन। यस्तो अवस्थामा पार्टी विरुद्धको समानान्तर गतिविधि रोक्न अध्यक्ष धुर्वकुमार शाहीको भूमिका आवश्यक थियो। उनले एमाले सुर्खेतमा आएको विद्रोह रोक्न कुनै कसर वाँकी राखेनन्। शाहीलाई विगतमा साथ दिएका र उनका प्रिय पात्र सचिव वडुवालको गतिविधि निस्तेज पारेरै छोडे।

२०७० को निर्वाचनमा सुर्खेतमा यमलाल कडेल विरुद्धमा वागी वनेका शिवप्रसाद उपाध्यायको सहजीकरण र प्रत्यक्ष रेखदेखमा समानान्तर कमिटी निर्माणको योजना वनेको थियो। यसैको तयारी भन्दै २ दिन अघि स्थानीय वुलवुले पार्कमा भेलाको आयोजना समेत गरिएको थियो। माओवादी नेतृत्वको कर्णाली सरकार जोगाईदिन आफ्नो सांसद पद र पार्टी सदस्यता नै तिलान्जली दिएका प्रकाश ज्वाला यो अभियानको मुख्य संरक्षक वनेका थिए।

जे होस, यसपटक एमालेमा देखिएको ठूलो विद्रोह जिल्ला अध्यक्ष धुर्वकुमार शाहीको नेतृत्वमा जिल्ला तहका अन्य नेताहरुको खटन-पटनमा जवर्जस्तरुपमा दवाईएको छ। कमिटीमा राखिएका ठूलो संख्याले कमिटीमा नरहेका जानकारी गराईसकेका छन्। केही असन्तुष्टिहरु वाँकी रहेका र त्यसको समाधान गर्न आफु १/२ दिनभित्रै सुर्खेत आउन लागेको अध्यक्ष शाहीले वताए। सुर्खेतका सवै कार्यकर्ताहरुलाई वागी/विरोधी नवन्न र पार्टी विरोधी गतिविधिमा सहभागी नवन्न उनले आग्रहसमेत गरेका छन्।

प्रकाशित मिति : २०७८ जेठ १६ गते आइतबार