२०८३ वैशाख २ , बुधबार

कांग्रेस मियो वनेर देश वनाउन लाग्छः कांग्रेस महामन्त्री खड्का



फागुन २९, सुर्खेत

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्ट शासन कहालीलाग्दो भएको आरोप लगाएका छन् । उनले ३ वर्षे यस्तो अवस्थाबाट मुलुकले मुक्ति पाउनै लागेको दाबी समेत गरेका छन् ।

शनिबार दैलेखको डुंगेश्वरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै महामन्त्री खड्काले सबै राजनीतिक दलहरूलाई मिलाई विगतको इतिहास जस्तै कांग्रेस मियो बनेर देशलाई दुर्घटनाबाट बचाउन लाग्ने वताए ।

कम्युनिस्टहरुले सत्ता चलाउन पाएको तीन वर्षको अवधिमा भ्रष्टाचार, कुसंस्कार र अधिनायकवादी प्रपञ्च रचेर अधिकार संकुचन र नियन्त्रण गर्ने कहालीलाग्दो अवस्था मुलुकले व्यहोरेको वताए ।

महामन्त्री खड्काले दुई तिहाईको अहंकारका कारण अर्काको नाम जवर्जस्ती खोसेर आफ्नो बनाएको नेकपालाई सर्वोच्च अदालतले दुई चिरा पारिदिएको बताए । ‘दुई तिहाईको बलमा अर्काको नाम जवजस्ती खोसेर आफ्नो बनाएको नेकपालाई सर्वोच्चले फेरि दुई चिरा पारिदिएको छ,’ उनले भने, ‘अव कांग्रेस आफ्नो अनुभव, परिपक्वता र बुद्धिमत्ताका साथ देशको नेतृत्व गर्छ ।

महामन्त्री खड्काले पछिल्लो परिवर्तनमा कांग्रेस नेतृत्वले गरेको निर्णय विचित्रको भएको बताए । ‘नेतृत्वमा आएको परिवर्तन यस्तो विचित्रको छ, जसलाई हामीले सम्हाल्न सक्यौं भने कांग्रेस फेरि मुलुकको मियो बन्छ,’ उनले भने, ‘हिजो कांग्रेस र नेतृत्वलाई सत्ताको लोभी भनेर गाली गर्नेहरु अहिले प्रशंसा र भरोसा गरिरहेका छन् ।’

उनले धैर्यता, संयमता, समयको ज्ञान, इतिहासले सिकाएको पाठ र विगतमा भएका गल्ती र कमजोरीहरुलाई मनन् गर्दै गलत प्रबृत्ति र संस्कारबाट आफु र पार्टीपंक्तिलाई मुक्त बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

महामन्त्री खड्काले नयाँ परिस्थितिको नेतृत्व लिनका लागि कांग्रेस पनि रुपान्तरण हुन आवश्यक रहेको बताए । ‘विना रुपान्तरण भएको नेतृत्व, समयानुसार पुनर्निमाण नगरिएको कांग्रेसले मुलुकको नेतृत्व गर्न सक्दैन्,’ उनले भने, ‘समय परिवर्तन हुने तर, हामी विगतकै गाथा बोकेर अवको समयले हामीलाई पत्याउँदैन् ।’

उनले कांग्रेसका नेताहरुका व्यवहार, जीवनशैली र गरिएका व्यवहारबाट कुडिएका जनताका मनलाई आफैबाट सुधार र रुपान्तरण गरेर नयाँ परिस्थितिको नेतृत्व गर्नका लागि समयानुसार रुपान्तरण हुन आवश्यक रहेको बताए । उनले कांग्रेसलाई आज र भोलिको पुस्ताका लागि आशा र भरोसायुक्त पार्टी बनाउनेतर्फ नेतृत्वकर्ताले सोच्ने बेला आएको बताए ।

प्रकाशित मिति : २०७७ फागुन २९ गते शनिबार