२०८३ वैशाख १४ , सोमबार

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस कर्णालीबाट आकांक्षीहरुको लाइन !

प्रदेशले केन्द्रलाई सिफारिस ग¥यो ९२ जनाको नाम


कुलेन्द्र शाही, सुर्खेत । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा लागि नेपाली कांग्रेस कर्णाली प्रदेशबाट आकांक्षीहरुको लाइन नै लागेको छ । हाईप्रोफाइलदेखि मन्त्री समेत भइसकेका कांग्रेसका नेताहरु राष्ट्रिय सभामा जान चाहिरहेका छन् ।

राष्ट्रिय सभाको उम्मेदवारका लागि कांग्रेस पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारका लागि नाम सिफारिस गरी पठाउन भनेको थियो । सोही अनुसार जिल्लाबाट प्रदेश कमिटीमा नाम सिफारिस भएर आएका उम्मेदवारहरुको नाम प्रदेशले जस्ताको त्यस्तै केन्द्रमा पठाएको छ ।

सोमबार र मंगलबार बसेको प्रदेश कमिटीको बैठकले जिल्लाबाट आएका नामहरूलाई केन्द्रले नै टुङ्ग्याउने गरी पठाएको कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले जानकारी दिए । राष्ट्रियसभाका लागि कर्णालीबाट हाईप्रोफाइल नेताहरुनै आकांक्षी रहेका छन् ।

गठबन्धन अनुसार गएको खण्डमा कर्णालीमा कांग्रेसको भागमा एक उम्मेदवार पाउने छ । कर्णालीबाट तीन सिटका लागि प्रतिस्पर्धा हुने छ । प्रदेश समितिले पार्टीका तर्फबाट वरिष्ठता, निरन्तरता, अहिलेसम्म अवसर प्राप्त नगरेका, कुनै महत्त्वपूर्ण भूमिका प्रदान नगरेका जिल्लालाई उच्च प्राथमिकता राखेर केन्द्रीय पार्टीले निर्णय गर्न अनुरोध समेत गरेको छ ।

हुम्लाबाट भने कुनै पनि आकांक्षीको नाम नआएको स्रोतको भनाइ छ । हुम्लामा योग्यता प्राप्त गरेका नेताहरु भएता पनि उम्मेदवारी दिन भने पछि हटेका छन् । यता, प्रदेश सभापति ललितजंग शाहीले भने अरूलाई अवसर दिने भन्दै आफ्नो नाम फिर्ता लिएका छन् ।

स्रोतका अनुसार दुई दिनसम्म छलफल चलेपनि प्रदेशले महिला, दलित, योग्यता पुगेका र त्यसैमा पनि काँग्रेसका लागि एउटा मात्रै कम सिट भएकाले केन्द्रले सहमतिका आधारका छनोट गर्ने भन्दै प्रदेशले उम्मेदवारहरुको नाम मंगलवार केन्द्रमा सिफारिस गरेको स्रोतको भनाइ छ ।
यी हुन् आकांक्षी ?
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस कर्णाली प्रदेशबाट करिब ९२ जनाले आकांक्षा देखाएका छन् । उनीहरु ९२ आकांक्षीको नाम प्रदेशले केन्द्रमा सिफारिस गरेको छ । जसमा सुर्खेतबाट मात्रै २४ जनाको नाम प्रदेशले सिफारिस गरेको छ ।

सुर्खेतबाट पूर्व पार्टी सभापति डम्बर जिसी, पूर्वमन्त्री खड्क बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ बढीको नाम सिफारिस गरेको स्रोतले बताएको छ । यस्तै दैलेखबाट पूर्व सभापति रविन्द्रराज श्रेष्ठ, पूर्व राष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको स्रोतको भनाइ छ ।

हिमबहादुर शाही ०७४ मा समानुपातिकबाट प्रदेश सभा सदस्य भई कानुनमन्त्री समेत भइसकेका नेता हुन् । रंगबहादुर शाही पनि गणतन्त्र भन्दा पहिला नै सांसद भइसकेका पुराना नेता हुन् । यस्तै जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाल लगायत छ जना, जाजरकोटबाट प्रदेश उपसभापति सनथबहादुर कार्की, सहमहामन्त्री रामछाया शाही, दीपकजंग शाहको नाम सिफारिस भएको स्रोतको भनाइ छ ।

दीनबन्धु श्रेष्ठ ०७४ मा प्रदेश सभा सदस्य भई जलस्रोत तथा ऊर्जा मन्त्री समेत भइसकेका नेता हुन् ।कालिकोटबाट तरुण दलका पूर्व केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालीबहादुर सहकारी, प्रदेश कार्यसमिति सदस्य मनबहादुर नेपाली, मोतिराज बम, यशोदा शाहीलगाएत नौ जनाको नाम सिफारिस गरिएको हो ।

रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपाली लगायतको नाम सिफारिस भएको छ भने सल्यानबाट पूर्व केन्द्रीय सदस्य डिल्ली रेग्मी, ध्रुव पुरी, गणेश चन्दलगायतको नाम सिफारिस गरिएको छ ।

मुगुबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस भएको छ । डोल्पाबाट संविधानसभा सदस्य दुधकुमारी हमाल, टंक उपाध्यायलगायतको नाम सिफारिस भएको छ । राष्टियसभामा कर्णालीबाट तीन सिट खाली हुने भएपछि प्रदेश कार्यसमितिले विवादित बन्न नचाहेर सिफारिस भएर आएका नाम सबै केन्द्रमा पठाएको हो ।

प्रकाशित मिति : २०८० पुस ११ गते बुधबार