सुर्खेत । नेपाल प्रहरीमा प्रहरीमा जागिर लगाइदिने भन्दै ३ लाख ठगेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभनमा पारी ६ जना तीन लाख ठगी गरेको उजुरीपछि कालिमाटी गाउँपालिका–२ कट्बीरका २५ वर्षीय भोला पुन मगर पक्राउ परेका हुन् ।
उनले आफ्नै वडा टाट्केका सुशिलकुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेशकुमार केसीलाई प्रहरी बनाइदिने प्रलोभन देखाई उनीहरूबाट जनही ५० हजार रकम असुलेका थिए । जवान र असईमा भर्ना गराइदिने प्रलोभनमा पारी ६ जनाबाट प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख ठगी गरेको उजुरीको आधारमा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।
उनकाअनुसार मगरले आफ्नो प्रहरीका ठूला अफिसरसँग चिनजान भएको र यसअघि धेरैलाइ प्रहरीमा जागिर खुवाइसकेको भन्दै उनीहरुलाई आश देखाएका थिए । साथै उनले पैसा मात्रै नभई ६ जनालाई जागिरको प्रलोभनमा पारी घरको कामसमेत गराएको अनुसन्धानबाट खुलेको प्रहरीका भनाइ छ ।
सुरूमै मगरले ६ जनाबाट रकम असुलेका थिए । रकम असुल्दा उनले आफूले बैंक खाता नखोलेको भन्दै साथीको नाममा आइएमी गर्न लगाएका डिएसपी कार्कीले बताए । लामो समयसम्म प्रहरीको जागिर नखुवाएपछि पीडितहरूले मंसिर २९ गते बिहान मगरलाई कालिमाटी–२ टाट्केमा आएको समयमा भेटेपछि रकम फिर्ता गर्न भनेका थिए ।
तर, मगरले आफूले कसैसँग रकम नलगेको हुँदा प्रमाण देखाउन र त्यसो नभए जे सक्छौ गर भनेर धम्काएका थिए । त्यसपछि पीडित भनिएका ६ जनाले इलाका प्रहरी कार्यालय लुहाममा गई मगरविरूद्ध ठगी गरेको भन्दै किटानी जाहेरी दिएका थिए। त्यसको केही दिनपछि आरोपित मगरलाई त्रिवेणी गाउँपालिका ६ लुहाम बजारबाट पक्राउ गरिएको सल्यान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए ।
पक्राउपछि मगरलाई जिल्ला अदालत लगिएकोमा पुस ८ गतेदेखि लागु हुने गरी दश दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतले अनुमति दिएको प्रहरी निरीक्षक धमलाले जानकारी दिए।