२०८३ वैशाख १४ , सोमबार
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा गठबन्धन भर्सेस एमाले

यस्तो छ मतभार


कुलेन्द्र शाही, सुर्खेत । कर्णालीबाट आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि गठवन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल, माओवादीबाट कालीकोटका विष्णु विकले मनोनयन दर्ता गराएका हुन् ।

महिलातर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया उम्मेदवार छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबिच राष्ट्रिय सभाका ३ सिटमा १/१ सिट लिने गरी भागवण्डा भएको छ ।

उता नेकपा एमालेले पनि उम्मेदवारको मनोनयन दर्ता गराएको छ । एमालेबाट राष्ट्रियसभा सदस्यका लागि विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराएका हुन् । हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका हिक्मत विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बनेका छन् ।

यो सँगै कर्णालीमा गठबन्धन र एमाले भर्सेस हुने भएको छ । खुल्ला क्लस्टरमा सत्तारुढ गठबन्धनले कांग्रेसका कृष्णबहादुर रोकायालाई उम्मेदवार बनाएको छ । रूकुमपश्चिम घर भएका रोकाया नेपाली कांग्रेस कर्णालीका महामन्त्री हुन् । रोकाया २०७० सालको संविधान सभा निर्वाचनमा रुकुम (१) बाट चुनाव लडेका थिए।

२०७४ को प्रदेश सभा निर्वाचनमा पनि रुकुम पश्चिम प्रदेश (क) बाट उम्मेदवार बनेर चुनाव लडेका उनी यी दुवै निर्वाचनमा पराजित भएका थिए । उनलाई गठबन्धनकोतर्फबाट पार्टीले यो पटक राष्ट्रिय सभा सदस्य बन्ने अवसर प्रदान गरेको छ । रोकायाले बहुदल स्थापनापछि राजनीति सुरु गरेका थिए । उनी नेपाल विद्यार्थी संघ रुकुमको संस्थापक अध्यक्ष हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

यस्तो छ कर्णालीमा मतभार
सत्तारुढ गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा कर्णालीमा एमालेको मतभार संख्या कमजोर रहेको छ । यो मतभारको हिसाब गर्दा कर्णालीमा गठबन्धनको जित सुनिश्चित देखिएको छ । सत्ता गठबन्धन दलहरूले क्लस्टर भागबण्डा गरेर उम्मेदवार बनाएका छन् ।

दलहरूको मतभार संख्यालाई आङ्कलन गर्दा सत्तारुढ गठबन्धनको एमालेको भन्दा तीन गुणाले बढी छ । यो हिसाबमा गठबन्धन नेपाली कांग्रेसले अन्य, नेकपा माओवादी केन्द्रले दलित र नेकपा (एकीकृत समाजवादी) ले महिला क्लस्टर भाग पाएका छन् । नेकपा एमालेले खाली रहेका सबै पदमा आफ्ना उम्मेदवार उठाएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १ सय ५६ गरी जम्मा १ सय ९६ जना मतदाता कायम भएका छन् । सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २ हजार १ सय २० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २ हजार ९ सय ६४ गरी जम्मा ५ हजार ८४ मतभार कायम हुनेछ ।

७९ वटा स्थानीय तहका १ सय ५८ जना भएपनि दैलेखका महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङ र जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर सरिता सिंहको मृत्यु भइसकेको छ । हाल भएका मतदातामध्ये १ सय ५६ पालिकाका जनप्रतिनिधिको २ हजार ९६४ र ४० जना सांसदको २ हजार १२० गरी कुल मतभार पाँच हजार ८४ हुन्छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार एक जना बराबर ५३ र स्थानीय तहका जनप्रतिनिधिको एक जना बराबर १९ तोकिएको छ । कर्णालीमा अहिले भएको कुल मतभारमध्ये सबैभन्दा धेरै सत्ता गठबन्धन दल नेपाली कांग्रेसको छ । कांग्रेससँग स्थानीय तहको अध्यक्ष–उपाध्यक्ष र प्रमुख–उपप्रमुखबाट एक हजार १०२ मतभार छ । प्रदेश सभामा रहेका कांग्रेसका १५ जना सदस्यको मतभार ७९५ छ।

राष्ट्रिय सभाका लागि कांग्रेससँग तत्काल एक हजार ८९७ कुल मतभार छ । नेकपा माओवादी केन्द्रसँग स्थानीय तहका प्रतिनिधिबाट ९१२ र प्रदेश सभा सदस्यहरूबाट ६८९ गरी जम्मा एक हजार ६०१ मतभार छ । यस्तै नेकपा (एस) सँग स्थानीय तहका जनप्रतिनिधिबाट १९० र प्रदेश सभा सदस्यबाट ५३ सहित कुल २४३ मतभार छ ।

स्वतन्त्र रूपमा निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधि मतदाता छोडेर सत्ता गठबन्धनसँग कुल तीन हजार ७४० मतभार छ । नेकपा एमालेसँग स्थानीय तहका जनप्रतिनिधि मतदाताबाट ६६५ मतभार छ भने प्रदेश सभा सदस्यहरूबाट ५३० मतभार छ ।  स्वतन्त्र रूपमा निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिलाई छोडेर एमालेसँग कुल एक हजार १९५ मतभार रहेको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा कर्णालीका ७९ वटा पालिकामध्ये पाँच वटाको प्रमुख तथा अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका थिए। त्यतिबेला पार्टीसँग रूष्ट भएर स्वतन्त्र चुनाव लडेका उनीहरू आ–आफ्नो पार्टीमा फर्किने क्रममा छन्। उनीहरूको मतभार ९५ हुन्छ । कर्णाली प्रदेश सभामा एक जना राप्रपाबाट सदस्य छन्। राष्ट्रिय सभाका लागि कर्णालीमा राप्रपाको पनि ५३ मतभार छ ।

प्रकाशित मिति : २०८० पुस २४ गते मंगलबार