कुलेन्द्र शाही सुर्खेत । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ९ सय ७६ जना ग्राहकको विद्युत लाइन काटेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्म लामो समयदेखि विद्युत महसुल नतिरेका सुर्खेत जिल्ला र सल्यानको सल्लीबजारका करिब ९ सय ७६ जनाको लाइन काटेको हो ।
६० दिनभित्र महसुल नतिरे लाइन काटिने जानकारी दिए पनि सुचनाको अटेर गर्दै उपभोक्ताले बक्यौता रकम नतिरेको प्राधिकरणले बताएको छ । विद्युत् बक्यौता नतिर्नेमा सरकारी कर्मचारी तथा मन्त्रीहरु समेत रहेका छन् । उनीहरुले आफु बस्ने क्वाटरको समेत विद्युत बापतको बाँकी विद्युत् महसुल नतिरेको पाइएको छ ।
प्राधिकरणले १५ हजार भन्दामाथि र समयका आधारमा ६० दिनदेखि नतिरेका ग्राहकको लाइन काट्ने गरेका छ । महसुल नतिर्नेमा संघसंस्था, कार्यालयभन्दा पनि व्यक्ति बढी छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका सुचना अधिकारी बेनी नेपालीले चालु आवमा जिल्लामा लामो समयदेखि महसुल नतिर्ने झण्डै एक हजार ग्राहकको लाइन काटेको जानकारी दिए ।
लाइन काट्न थालेपछि बक्यौता रकम बुझाउन धेरै संख्यामा ग्राहकहरू वितरण केन्द्र पुग्ने गरेको अधिकारी नेपालीले जानकारी दिए । उनका अनुसार लाइन काटिसकेपछि बक्यौता रकम तिरेका करिब ७ सय ५१ जनाको लाइन भने फेरी जोडिएको छ ।
उनका अनुसार सुर्खेतमा सुर्खेत वितरण केन्द्र र जहरे वितरण केन्द्र गरी दुइवटा वितरण केन्द्र रहेका छन् । जहरेबाट १ सय ५९ जनाको लाइन काटेको थियो । त्यो मध्ये लाइन काटिसकेपछि १ सय ७ जनाले बक्यौता रकम तिरिसकेका छन् । रकम तिरिसकेकाको लाइन पनि पुनः जोडिसकिएको छ ।
यस्तै सुर्खेत वितरणकेन्द्रबाट भने ८ सय १७ जनाको लाइन काटिएकोमा ६ सय ४४ जनाले मात्रै बक्यौता रकम तिरेका छन् । दुइ वितरण केन्द्रबाट गरी दुई करोड २३ लाख ९७ हजार सात सय ३५ रुपैंया ५८ पैसा उठेको छ । अझै प्राधिकरणले २८ लाख ६९ हजार सात सय ६६ रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।
प्राधिकरणले सामाजिक सञ्जालमार्फत सूचना जारी गरी सुर्खेत र सल्यानको सल्लीबजारका उपभोक्ताहरुलाई विद्युत बापतको बाँकी विद्युत् महसुल तिर्न ताकेता गरेको थियो ।
सडक बत्तीकै ५ करोड रकम बक्यौता
स्थानीय निकायले सडक बत्तीको महसुल नतिर्दा सुर्खेत प्राधिकरणले असुली गर्नुपर्ने बक्यौता रकम ५ करोड बढी पुगेको छ । सल्यानको सल्लीबजार र सुर्खेतका ९ स्थानीयतहले सडक बत्ती प्रयोग गरेबापतको महसुल रकम नतिर्दा प्राधिकरणले असुली गर्नुपर्ने बक्यौता रकम ५ करोड २३ लाख २७ हजार ५ सय ६० रुपैंया २६ पैसा पुगेको हो ।
यतिबेला स्थानीय तहको चेपुवामा विद्युत प्राधिकरण परेको छ । प्राधिकरणले बिजुली किनेर बिक्री गर्ने र स्थानीय तहले बक्यौता नतिर्ने हुँदा प्राधिकरण अप्ठ्यारोमा परेको हो ।
प्राधिकरणले दिएको जानकारी अनुसार मिटर जडान भएका सडकका बत्तिबाट ६३ हजार ८ सय ६७ रुपैयाँ ७० पैसा र मिटर नै जडान नभएका सडकका बत्तिबाट ५ करोड २२ लाख ६३ हजार ६ सय ९२ रुपैयाँ ५६ पैसा गरी ५ करोड २३ लाख २७ हजार ५ सय ६० रुपैंया २६ पैसा असुल गर्न बाँकी छ ।
“बक्यौता नतिर्नेमा वीरेन्द्रनगरका ग्राहक बढी छन्”, सुचनाअधिकारी नेपालीले भने, “पटकपटक आग्रह गर्दा पनि अटेरी गरेकाले लाइन काट्ने गरेका हौँ ।” हाल सुर्खेत वितरण केन्द्रका उपभोक्ताहरुको संख्या करिब ६३ हजार पुगेको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।