२०८३ वैशाख १४ , सोमबार
पञ्चपुरीमा युवक मृत फेला प्रकरण

बन्चरो प्रहारबाट हत्या, परिवारका सदस्यमाथि आशंका !



सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय भरत बुढाको हत्या भएको खुलेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार भरतको बन्चरो प्रहार गरी हत्या भएको खुलेको हो । मंगलबार बिहान १ बजेतिर घर नजिकै मृत अवस्थामा भरतको शव भेटिएको थियो ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बाबियाचौरको प्रहरी त्यहाँ पुगेर घटनास्थल सुरक्षित राखेको थियो । राति नै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टिकाराम आचार्यसहितको अनुसन्धान टोली उक्त स्थानमा खटिएको थियो ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा आफैँ पनि घटनास्थलमा पुगेका थिए भने कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली त्यहाँ पुगेको थियो । अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार भरतलाई धारिलो हतियार बन्चरो प्रहार गरेर हत्या गरिएको छ ।

हत्या पश्चात् उनकै घर अगाडिको बाख्राको खोर नजिकै सुकेको घाँसले शवलाई छोपेर राखिएको थियो । ती अनुसन्धान अधिकृतका अनुसार अनुसन्धानका क्रममा भरतको घरभित्रकै सदस्यबाट हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उनकी बहिनीले दिएको बयान र घटनास्थलमा प्राप्त विवरण अनुसार भरतकै एक अभिभावकबाट हत्या भएको आशंका गरिएको ती प्रहरी अधिकृतले बताए ।

भरतको बन्चरो प्रहारबाट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कृष्ण खड्काले जानकारी दिए । घटनाबारे मुचुल्का बनाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

पञ्चपुरीमा एक युवक मृत फेला, घटना शंकास्पद

प्रकाशित मिति : २०८० माघ २ गते मंगलबार