२०८३ जेठ २७ , बुधबार

जिप दुर्घटना : एकको मृत्यु, सात घाइते



बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँकी १५ वर्षीया मनीषा बिष्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। मनीषाको घटनास्थलमै मृत्यु भएको हो।​

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप मंगलबार दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन्।

घाइते हुनेमा दोगडाकेदार-८ कै चालक समेत रहेका ३० वर्षीय भूपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेका छन्।

घाइतेमध्ये चालक भूपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताए। घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। जिपमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनाग्रस्त जिप सडकबाट करिब ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार