जुम्ला । भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्ला नमुना कार्यालयका रूपमा घोषित भएको छ । प्रदेश सरकारको माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्कृष्ट तथा नमुना कार्यालय घोषणा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअन्तर्गत कर्णाली प्रदेशका ११ वटा कार्यालय नमुना घोषित भएसँंगै जुम्लाको भू–तथा जलाधार व्यवस्थापन कार्यालय मात्र नमुना कार्यालयका रूपमा घोषित भएको हो ।
प्रदेश सरकार मातहत जुम्लामा पूर्वाधार विकास कार्यालय, डिभिवन वन कार्यालय, सामाजिक विकास कार्यालय, जनस्वास्थ्य कार्यालय, पशु सेवा कार्यालय, प्रदेश कोलेनिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, प्रदेश सडक कार्यालय र भू–तथा जलाधार व्यवस्थापन कार्यालय रहेका छन् ।
यी कार्यालयमध्येबाट विकास, निर्माण, बजेट खर्च, सेवा प्रवाहलगायतका विभिन्न कामको मूल्यांकन गर्दै भू–तथा जलाधार व्यवस्थापन कार्यालयमात्रै नमुना घोषित भएको हो । प्रदेशअन्तर्गतका विकासे कार्यालयको प्रगति सन्तोषजनक छैैन । भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख हिमालय साउदले नमुना कार्यालय घोषित हुनुले सेवा प्रवाह तथा कार्यालयको कार्यसम्पादनमा थप जिम्मेवारी थपिएको बताए ।
भौगोलिक कठिनाइ, मौसम प्रतिकूलता, बजेट अभावलगायतका कारणले काम गर्न मुस्किल रहेको उनको भनाइ छ । सर्वोत्कृष्ट नमुना कार्यालयमा पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु रहेको छ । उता स्वास्थ्य कार्यालय डोल्पा स्वास्थ्य सेवामा नमुना घोषित भएको हो छ भने कर्णालीका ११ नमुना कार्यालय घोषित गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. रत्नवीर सुनार भन्छन्, ‘डोल्पा देशकै विकट र भौगोलिक रूपमा अप्ठ्यारो जिल्ला हो । यो जिल्लामा तीनवटा पालिकामा मात्र यातायात सुचारु छ । त्यसैले सबै ठाउँमा सहज स्वास्थ्य सेवा दिन एकदम चुनौती छ । चुनौतीका बीच सेवा दिइरहेका थियौं । प्रदेशले हाम्रो कामको प्रोत्साहन गरेकोमा खुसी छौं ।’
सेवा प्रवाह तथा विकास निर्माणका हिसाबले भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लासहित अन्य १० प्रदेश सरकार मातहतका कार्यालय नमुना घोषित भएका हुन् । जसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिम, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेत, डिभिजन वन कार्यालय कालिकोट र पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु रहेका छन् ।
यस्तै, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोट, प्रदेश लेखा इकाई दैलेख, स्वास्थ्य सेवा कार्यालय सल्यान र डिभिजन वन कार्यालय हुम्ला, प्रदेश लोक सेवा आयोग नमुना कार्यालयमा परेका छन् ।