कल्पना हमाल, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका-२ ले गर्भवती महिलाहरुलाई निःशुल्क क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउने उद्देश्यले वडाले स्वास्थ्य संस्थामार्फत् क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गर्दै क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाइएको वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरीले बताए ।उनकाअनुसार सुत्केरी महिलालाई बस्नको लागि वडाले आमाघरको पनि व्यवस्था गर्नेछ ।
गर्भवती भएको महिलाले तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्छ । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्याल्सियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता रहेको थियो ।
वडाको यो निर्णयसँगै अब सिम्ता-२ का सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन् । आमाको गर्भमा रहेका कुनै पनि शिशु पोषकतत्वको अभावबाट प्रभावित हुन नपरोस् भनेर क्याल्सियम प्रदान गर्ने कार्यक्रम अघि सारेको उनको वडा अध्यक्ष सिंहकाे भनाइ छ ।
‘गर्भवती र सुत्केरी महिलाले आफैले क्याल्सियम चक्की खरिद गरेर खाँदै आएका छन् । कतिपयलाई त क्याल्सियम चक्की खानुपर्छ भन्ने जनचेतनाकै अभाव हुन सक्छ । गाउँघरमा सहजढंगले क्याल्सियम चक्की किन्न पाइन्न । सहज उपलव्ध हुन्न,’ वडा अध्यक्ष सिंहले भने, ‘आमा र बच्चाको स्वास्थ्यका लागि नभै नहुने क्याल्सियम चक्कीको अभाव नहोस् र क्याल्सियम चक्कीबाट कोही पनि बञ्चित नहुन् भनेर निःशुल्क वितरणको व्यवस्था गर्न लागेका हौँ ।’
आफ्नो तथा बच्चाको स्वास्थ्यप्रति सचेत गर्भवती र सुत्केरीले क्याल्सियम चक्की किनेर खाने गरेपनि दुरदराजका अधिकांश गर्भवती र सुत्केरी नियमित क्याल्सियम चक्की सेवनबाट बञ्चित छन् । कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको संख्यामा वृद्धि हुने र मातृशिशु स्वास्थ्य प्रवर्द्धनमा टेवा मिल्ने विश्वास आफुहरुले लिएको उनलेे बताए।