२०८३ वैशाख १४ , सोमबार
कर्णाली प्रदेशसभा

६ वर्षमा ५७ विधेयक प्रमाणीकरण



कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेश सभा स्थापना भएको आइतवार ६ वर्ष पुरा भइसकेको छ । २०७४ साल माघ २१ गते प्रदेश सभाको स्थापना भएको हो । कर्णाली प्रदेश सभाले ६ वर्षको अवधिमा ५७ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण गरेको छ । गत वर्षसम्म मात्रै ५३ वटा विधेयक प्रमाणीकरण भएका थिए । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा ७ वटा विधेयक टेबुल भएकोमा ४ वटा विधेयक प्रमाणीकरण भएको संसद सचिवालयका कानुन अधिकृत मदन खड्काले बताए ।

अन्य ३ वटा विधेयक भने विषयगत समितिमा छलफलका लागि पठाइएको छ । सो विधेयक हालसम्म विचाराधीन अवस्थामा छ । २०८० साउन ११ गते प्रमाणीकरण भएका विधेयकहरूमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० असार ३१ गते कर्णाली प्रदेश आर्थिक विधेयक २०८०, २०८० असार ३१ गते कर्णाली प्रदेश विनियोजन विधेयक २०८० र २०८० असोज २९ गते कर्णाली प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

प्रदेशसभामा टेबुल भएका तर पारित तथा प्रमाणीकरण नभएका विधेयकहरूमा २०७९ चैत्र १९ गते टेबुल भएको कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८० साउन १६ गते कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० साउन २९ गते कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् । टेबुल भएका तर सभाबाट पारित नभएका विधेयकहरू विषयगत समितिमा छलफलका लागि पठाइएको कानुन अधिकृत खड्काले बताए ।

दोस्रो कार्यकालको पहिलो अधिवेशन कर्णालीमा २०७९ पुस १८ गते बसेको थियो। १५ वटा बैठक बसेको थियो । त्यस्तै दोस्रो अधिवेशन २०८० ज्येष्ठ १० गते बसेको थियो । ३९ वटा बैठक बसेर दोस्रो अधिवेशन २०८० असोज २२ गते सकिएको थियो । कर्णालीमा ४० जना सांसद सदस्यहरूले प्रतिनिधित्व गर्ने गरेका छन् । कर्णालीमा १ जना समानुपातिकसहित २५ जना पुरुष र १५ जना महिला सांसद गरी ४० जना प्रतिनिधित्व गरिरहेका छन् ।

१५ जना सांसद समानुपातिक तर्फबाट प्रतिनिधित्व गरेका छन् । कर्णालीमा कांग्रेसबाट १४ जना, माओवादी केन्द्रबाट १३ जना, एमालेबाट १० जना, एकीकृत समाजवादीबाट १ जना, राप्रपाबाट १ जना र स्वतन्त्र १ जना सांसद प्रदेशसभामा रहेका छन् । २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बसेको दिनलाई प्रदेश सभा स्थापना दिवसका रुपमा बनाउँदै आएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार