२०८३ वैशाख १४ , सोमबार

हुम्लामा हिमपात, किसान खुसी



हुम्ला । हिमाली जिल्ला हुम्लामा पुनस् हिमपात भएको छ । चौथो पटक परेको हिउँले जिल्लाका किसान खुसी भएका छन् । फागुन महिनामा चौथो पटक परेको हिउँले कृषि क्षेत्रमा फाइदा हुने भएकाले जिल्लाका किसान खुसी भएका हुन् । हिउँदयाम समाप्त हुँदासम्म पनि हिउँ नपरेपछि चिन्तित भएका जिल्लाका किसानलाई फागुनमा चौथो पटक परेको हिउँले निकै राहत पुगेको किसान छिरिङ लामाले बताए ।

जिल्लाको उत्तरी क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै क्षेत्रमा भारी हिमपात भएको छ । दक्षिणी क्षेत्रका सर्केगाड, चंखेली, अदानचुली र तांजाकोट गाउँपालिकाका लेकतिर हिमपात र बेसीतिर ठूलो वर्षा भएको छ । जिल्लाको ८५ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीको भरमा भएको हुँदा यो हिउँले किसानलाई सिँचाइमा सहयोग पुगेको छ ।

सोमबार रातिबाट परेको हिउँ जिल्लामा एक फिट जति छ । यो वर्ष पुस र माघमा हिउँ परेन । हिउँले जिल्लामा उत्पादन हुने जेठासी बाली गहुँ, उवा, जौ, नाफलजस्ता बालीलाई उत्पादनमा ‍फाइदा पुगेको छ भने स्याउ, ओखार, आरु, खुर्पानीजस्ता बिरुवा नर्सरीबाट बारीमा सार्न मद्दत गुग्ने सिमकोट गाउँपालिका कृषि विकास शाखा प्रमुख नेत्र शाहीले बताए ।

हिउँदमा जति धेरै हिउँ पर्‍यो त्यति नै बर्खे बाली कोदो, चिनो, कागुनो, धान, फापर, लठ्ठे बाली राम्रो हुने उनले बताए । त्यस्तै आलु, पिडालु र सिमीलाई पनि हिउँले राहत पुर्‍याउने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार