सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिम भएका मिर्गौलाका बिरामीहरूका लागि डायलाइसिस सेवा सुरु भएको छ । प्रदेश अस्पतालको १८ औँ स्थापना दिवसको अवसरमा निर्देशक प्रा.डा डम्बर खड्काले सेरो पोजेटिभ भएका मिर्गौला बिरामीहरूको लागि डायलाइसिस सेवा सञ्चालनमा ल्याइएको बताए ।
प्रा.डा. खड्काले घोषणा गरेको ५ दिनमै डायलाइसिस सेवा सञ्चालनमा आएको छ। प्रा.डा. खड्काका अनुसार नेपालमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बाहेक अन्य ठाउँमा यो सेवा उपलब्ध छैन । सेरो पोजेटिभ मिर्गौलाका बिरामीहरूको लागि डायलाइसिस सेवा सबै ठाउँमा गर्न मिल्दैन। यो सेवा दिन चाहने अस्पतालले स्वास्थ्य सेवा विभागबाट स्वीकृत लिई सञ्चालन पर्छ।
डायलाइसिस सेवा सञ्चालन गर्दा जनशक्ति र भवन समेत छुट्टै चाहिन्छ। कर्णाली प्रदेश अस्पतालले सबै प्रक्रिया पु¥याएर सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक खड्काले बताए । हेमोडायलाइसिस सेवा ७ वर्ष अघिदेखि सञ्चालनमा छ। सेरो पोजेटिभ भएका मिर्गौला बिरामीहरूले डायलाइसिस गर्न महँगो रकम खर्च गरेर काठमाडौँमै जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
प्रदेश अस्पतालले आफ्नो १८ औँ स्थापना दिवसमा डायलाइसिस सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। सेरो पोजेटिभ मिर्गौलाका बिरामीहरूको लागि डाइलासिस सेवा सञ्चालनमा ल्याउने नेपालको यो पहिलो प्रादेशिक अस्पताल हो ।