२०८३ वैशाख १४ , सोमबार

कर्णालीमा आजदेखि दादुरा–रुबेला खोप अभियान सुरु

१ लाख ४७ हजार बढी बालबालिकालाई खोप लगाउने लक्ष्य


कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशमा आजदेखि दादुरा–रुबेला खोप अभियान २०८० अभियान सुरु भएको छ । जाजरकोट र रुकुम पश्चिम जिल्लाबाहेकका १ लाख ४७ हजार ४ सय ४४ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।

अभियान अन्तगत कर्णाली प्रदेशका ८ जिल्लामा आजदेखि चैत्र ७ गतेसम्म खोप लगाइने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय अभियान अन्तगत नै खोप अभियान सुरु भएता पनि प्रदेशका केही जिल्ला अथवा स्थानीय तहमा सुरु हुने दिन फरक पर्न सक्ने छ ।

आज सुर्खेतमा खोप अभियानको उद्घाटन गरिने तयारी रहेको अधिकृत कँडेलले बताए । उनले कर्णालीका जम्मा १ लाख ४७ हजार ४ सय ४४ बालबालिकामा जाजरकोट र रुकुम पश्चिमका ३३ हजार ३ सय २२ जना बालबालिकालाई यसअघि नै खोप लगाइसकिएको बताए ।

कुन जिल्लामा कति बालबालिकालाई खोप लगाइँदै?

प्रदेशको १० जिल्लामध्ये जाजरकोट र रुकुम पश्चिमबाहेक अन्य ८ जिल्लामा रहेका १ लाख बढी बालबालिकाहरूलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउँदै गर्दा सबैभन्दा धेरै बालबालिकाको संख्या सुर्खेतमा रहेको छ । जहाँ सुर्खेतमा ३२ हजार १ सय ३३ बालबालिकामा खोप लगाइने तथ्याङ्क छ ।

यस्तै, डोल्पामा सबैभन्दा कम ३ हजार १ सय ७७ बालबालिकामा दादुरा–रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशनालयको तथ्याङ्क छ । यस्तै, सल्यानमा २० हजार १ सय ७६, दैलेखमा २३ हजार ४ सय १४, कालिकोटमा १४ हजार ५ सय १२, जुम्लामा ९ हजार ३ सय ४८ हुम्लामा ५ हजार ३ सय १ र मुगुमा ६ हजार ६१ बालबालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाइने बताइएको छ ।

निर्देशनालयका अनुसार यसमध्ये छुटेका बालबालिकाहरूलाई वैशाखमा पुनः खोप लगाइने छ । खोपको जिल्लागत कभरेजको अवस्था हेर्ने हो भने सुर्खेत, रुकुम पश्चिम, सल्यान र जाजरकोटमा खोप उच्च छ भने, ड्रप आउटको अवस्था पनि कम छ ।

यस्तै, दैलेख, कालिकोट, जुम्ला, हुम्ला र डोल्पामा खोपको कभरेज र ड्रप आउटको अवस्था पनि कम छ । मुगुमा खोप कभरेज एकदमै कम रहँदा खोप ड्रप आउटको अवस्था भने उच्च छ । यस पटक भने खोप अभियानमा मुगुमा बढी केन्द्रित हुने भएको छ ।

खोज र खोपको नारा दिएर खोप लगाइँदै
स्वास्थ्य अधिकृत कँडेलले कर्णालीमा यो अभियानलाई खोज र खोपको नारा दिएका छन् । उनले खोपबाट बचाउन सकिने, रोगलाई नियन्त्रण लिने, अपाङ्गता र मृत्युदरलाई कम गर्ने खोपको उद्देश्य रहेको बताए । साथै उनले खोपबाट रोगहरूको निवारण र उन्मुलनलाई तीव्रता दिई दिगोपना कायम राख्नका लागि राष्ट्रिय खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए ।

उनले २०३४ सालदेखि यो खोप अभियान सुरु भएको बताए । खोप अभियानमा १३ प्रकारका एन्टिजेन रहेको बताए । कर्णालीमा मात्रै २ हजार बढी खोप केन्द्र कायम गरिएको छ ।

३३ प्रतिशत बढीको खोप खेर गएको निष्कर्ष

कर्णालीमा ३ आर्थिक वर्षको अवधिमा ७ करोडमा खरिद गरिएका ११ प्रकारका खोपमा २ करोड ३२ लाख बढी मूल्य बराबरको खोप खेर गएको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि गत वर्ष २०७९/०८० सम्म खरिद गरिएको कुल खोपमा ३३ दशमलव १ प्रतिशत खोप खेर जाँदा ६६ दशमलव ९ प्रतिशत मात्र खोप सदुपयोग भएको छ ।

जसमा बिसीजी, डीपीटी–हेप–हिब, पीसीभ, एफआईपीभी, जे.ई, दादुरा–रुबेला, पोलियो, रोटा, टीसीभी र टीडी खोप खरिद भएका थिए । यी खोपहरू सरकारले आफैँ र विकास साझेदारको सह–लगानीमा खरिद गर्ने गर्दछ । सन् २०२२ को सरकारी तथ्यांकअनुसार अझै पनि नेपालमा १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बालबालिकाले कुनै पनि खोपको डोज पाएका छैनन् ।

कर्णालीको भौगोलिक बनावट उच्च हिमाली, पहाडी क्षेत्र भएकाले एक ठाउँमा खोप प्रयोग गरी अन्य खोप रहेको अवस्थामा तत्काल खोप पु¥याउन समय लाग्ने तथा कतिपय नागरिकमा चेतनाको अभावका कारण खोप खेर गइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

ढुक्कले खोप लगाउन अधिकृत कँडेलको आग्रह
अधिकृत कँडेलले खोप शतप्रतिशत प्रभावकारी र सुरक्षित रहेको बताएका छन् । उनले खोप लगाउने बालबालिकाहरूलाई ढुक्कका साथ खोप लगाउन आग्रह गरेका छन् । ‘यो खोप लगाएको केही समयपछि कुनै कुनै व्यक्तिमा हल्का ज्वरो आउने, शरीरमा दादुराको जस्तै बिमिराहरू आउने जस्ता सामान्य असरहरू देखिन सक्छन् ।’ उनले भने ।

‘यस प्रकारका असरहरू केही दिनपछि आफैँ ठिक हुँदै जाने छन् ।’ नेपालमा विगत ३५ वर्षदेखि दादुरा खोप र ११ वर्षदेखि दादुरा रुवेला खोप नीतिमार्फत १५ महिनासम्मका बालबालिकालाई दिइँदै आएको छ । हालसम्म कुनै पनि व्यक्तिमा गम्भीर प्रकारको असर नदेखिएको उनको भनाइ छ ।

खोप कार्यक्रम सम्बन्धी यस्ता छन् समस्या र चुनौती
अधिकृत कँडेलले खोप अभियान सञ्चालन गर्दा विभिन्न समस्या देखिने बताए । खोप कार्यक्रम सञ्चालन गर्दा अपेक्षित प्रगति ९५ प्रतिशत र सबै तहमा एकरूपता नभएको, प्रदेशको तुलनामा जिल्लाहरूको र जिल्लाको तुलनामा स्थानीय तहको प्रगतिमा एकरूपता नहुनु समस्या तथा चुनौती भएको उल्लेख गरेका छन् ।

यस्तै शून्य खोप तथा ड्रप आउटको संख्या बढ्दै जानु, सूक्ष्म योजना अद्यावधिक र पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, समय–समयमा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको महामारीहरू देखा पर्नु, नियमित खोप सेवासँगै सरसफाइ प्रवर्द्धन कार्यक्रमका सेसनहरू प्रभावकारी रूपले सञ्चालन हुन नसक्ने जस्ता समस्या राखेका छन् ।

के हो दादुरा–रुबेला रोग?
मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने सङ्क्रामक रोग हो । रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को सङ्क्रामक रोग हो रुबेला । चाडै महामारीको रूप लिनसक्ने यी रोगहरू विशेष गरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने चिकित्सकहरू बताउँछन् । दादुरा सङ्क्रमण भएमा मृत्यु समेत हुनसक्ने उनीहरूको भनाइ छ ।

त्यसै गरी, रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ । तर, गर्भावस्थामा रुबेला सङ्क्रमण भएमा विभिन्न जटिलताहरू देखिने अधिकृत कँडेलको भनाइ छ । जस्तै समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्नसक्ने, गर्भपतन हुने ।

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार