
कुलेन्द्र शाही, सुर्खेत । वीरेन्द्रनगर–१० पठान टोलका कर्णबहादुर नेपाली ५४ वर्षका भए। यसमध्येको १५ वर्ष उमेर उनले ओछ्यानमै बिताएका छन् । ३९ वर्षको उमेरदेखि उनी ओछ्यानमा सुतिरहेका छन् । कर्ण त्यति बेलादेखि ओछ्यानमा छन्, जतिबेला उनी एउटा विद्यालयको रुख काट्ने काम गर्न गएका थिए ।
आज भन्दा १५ वर्षअघि २०६५ असोज २ गते वीरेन्द्रनगर–९ मा रहेको कोपिला माविमा काम गर्ने एक जना कामदारले उनलाई रुखको हाँगा काट्ने काम गरिदिन प्रस्ताव गरे । उनले कर्णलाई त्यो काम गरेबापत दुई सय रुपैयाँ दिने प्रस्ताव गरे । एकै दिनमा दुई सय रुपैयाँ पाउने भएपछि कर्णबहादुर हुन्छ भन्दै रुख चढे ।
सिसौको एउटा रुखको आधा भागमा पुगिसकेपछि उनी एक्कासि भुईँमा बजारिए । कर्णबहादुरलाई रुख नजिकैबाट गएको विद्युत्को तारबाट छोइएर रुखमा लिक भएको करेन्टले पछारेको थियो । उनलाई त्यसको कुनै हेक्का नै थिएन ।
‘आर्थिक अभावका कारण उपचार हुन नसकेपछि ओछ्यानमै बस्नुपरेको छ, घरको आर्थिक अवस्था कमजोर भयो, भएको जमिन बेचेर उपचारमै सक्दा पनि निको भएन,’ निराश हुँदै कर्णबहादुरले भने, ‘आम्दानीको कुनै स्रोत छैन, अब त अस्पताल जाने भाडा समेत हुँदैन ।’
रुखबाट पछारिएको उनले केही समयसम्म आफैँ उठ्ने प्रयास गरे । धेरै बेरसम्मको उनको प्रयास सफल भएन । अन्ततः उनी जीवनभर उठ्न नसक्ने भए । त्यति बेलैदेखि उनको कम्मरमुनिको भागमा पक्षाघात भएको छ । उनको कम्मरमुनिको भाग चल्दैन । घटना भएको केही समयपछि त्यति बेलाका क्षेत्रीय अस्पतालमा उनलाई लगियो ।
अस्पतालले एक्स–रे गरेपछि चोट गम्भीर भएको पायो । हालको प्रदेश अस्पतालले उनलाई थप जाँच तथा उपचारका लागि नेपालगञ्ज जान सुझायो । ‘श्रीमतीले भएको जग्गा बेचेर केही रकम जम्मा गरिन्, त्यसपछि मलाई नेपालगञ्जको भेरी अस्पतालमा लगियो । त्यहाँ पुगेपछि निको हुन्छु जस्तो लागेको थियो, तर भएन ।’
उनले भने, ‘नेपालगञ्जमा डाक्टरले एमआरआई गर्न भारतको लखनउ जान भने, त्यहाँ जाने पैसा नभएपछि एक जना नातेदारको सहयोगमा काठमाडौँ गएँ ।’ उनी काठमाडौँको वीर अस्पतालमा भर्ना भए । भर्ना भएको दुई महिनासम्म चेकजाँचका लागि पालो आएन । दुई महिनासम्म पनि आफ्नो उपचारको पालो नआएपछि उनी काठमाडौँबाट सुर्खेत नै फर्किए ।
यहाँ आएपनि थप उपचारका लागि उनले पैसा जुटाउन सकेनन्। ‘अब त औषधी गर्न परको कुरा हो, फलफूल किनेर खाने समेत पैसा पैसा छैन,’ कर्णबहादुर भन्छन्, ‘अहिले आफैलाई पछुतो लाग्छ, त्यति बेला दुई सय रुपैयाँको लोभले मेरो जिन्दगी नै बर्बाद भयो।’
घटना भएको केही समयपछि कोपिला माविले उनलाई औषधि खर्च भनेर १० हजार रुपैयाँ दिएको थियो। त्यति बेलादेखि नै आफूले आफ्नो उपचारका लागि ४० लाख रुपैयाँ खर्च गरिसकेको बताए । उनले केही वर्षअघि विद्यालयमै पुगेर आफूलाई औषधि खर्च सहयोग गरिदिन आग्रह गरेका थिए । तर विद्यालयले नसकिने भन्दै फिर्ता पठाएको उनले बताए ।
कर्णबहादुरका दुई छोरा र एक छोरी छन्। दुई जना छोरा विवाह गरेर अन्यत्रै बस्दै आएका छन्। १५ वर्ष पुगेकी उनकी छोरी पनि अशक्त छिन्। उनी बोल्न तथा कतिपय सामान्य काम पनि गर्न सक्दिनन् ।
‘छोराहरू आ–आफ्नो लयमा लागिसके, साथमा भएकी छोरी पनि अशक्त छ,’ उनले भने, ‘आफै अशक्त भएको मान्छे छोरीका सहारा कसरी बन्नु, केही नहुनेको कोही नहुँदो रहेछ ।’ यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।
