
बिग्रेर थन्क्याइएको शिवालय गाउँपालिकाको एम्बुलेन्स
कुलेन्द्र शाही, सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकामा सञ्चालित एम्बुलेन्स विगत ६/७ महिनादेखि बिग्रिएर थन्किएको छ । व्यवस्थापनमा लापरबाही र पालिकाको बेवास्ताले गाउँपालिकाको भे १ झ २९५ नम्बरको एम्बुलेन्स कार्यालय परिसरभन्दा केही मिटर टाढा इलाका प्रहरी कार्यालयको गेटभित्र थन्किएको हो ।
एम्बुलेन्स थन्किएको भन्दै त्यहाँका स्थानीयहरूले निकै आक्रोश पोखेका छन् । गाउँपालिकाको एम्बुलेन्स महिनौँदेखि एकै ठाउँमा राखेर जनताको सेवाविहीन बनेको छ । गाउँपालिकाको एम्बुलेन्स बिग्रेर थन्किएको झण्डै ६/७ महिनाभन्दा बढी भइसकेको छ । एम्बुलेन्स कार्यालय परिसरभन्दा केही मिटर टाढा खिया लाग्ने गरी थन्किएको छ ।
यतिका समय एम्बुलेन्स थन्किँदा इन्जिन र पार्टपुर्जामा खिया लागेको स्थानीयको भनाइ छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले चाहिएको बेला कार्यालयको गाडी वा अन्य कुनै गाडीबाट सेवा सुविधा पाउने भएपछि सर्वसाधारणको काममा आउने एम्बुलेन्समा कसैको ध्यान नपुगेको स्थानीयको आरोप छ । जनताको सेवा, सुविधा र हितमा काम गर्ने भन्दै कसम खाएर निर्वाचित भएका जनप्रतिनिधि आफ्नै सेवा सुविधा बढाउन लागि परेका स्थानीयको आरोप छ ।
‘अध्यक्ष ४० लाख भन्दा बढीको स्कार्पियो गाडी चढ्ने तर, पालिकामा भने एउटा बिरामी बोक्ने एम्बुलेन्स नहुने कति राम्रो पालिका छ हाम्रो शिवालय’ एक जना स्थानीयले भने । निर्वाचित भएको दुई वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिले भने यी समस्यामा चासो दिएको देखिँदैन । १०/१५ लाखको एम्बुलेन्स किन्न बजेट छुट्ट्याउन नसक्ने स्थानीय तहले काम बिनाको ४३ लाखको पालिका बस किनेर रमिता देखाएको छ ।
गाउँपालिका निमित्त प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले केही समय अगाडि एम्बुलेन्स बिग्रिएर थन्किएको स्वीकार गरेका थिए । उनले एम्बुलेन्स थन्किएको स्वीकार्दै अबको केही दिनमा नयाँ एम्बुलेन्स ल्याउन लागिएको आश्वासन देखाएका थिए । तर उनले देखाएको आश्वासन तीन महिना बितिसकेको छ । पालिकामा न त नयाँ एम्बुलेन्स आएको छ न पुरानो एम्बुलेन्स मर्मत नै भएको छ । उनले मर्मत गर्न धेरै नै खर्च लाग्ने भएकाले नयाँ एम्बुलेन्स ल्याउने तयारीमा रहेको बताएका थिए ।
‘मर्मत गर्न नयाँ किन्ने भन्दा बढी पैसा लाग्ने देखियो । नयाँ एम्बुलेन्स आउँदै छ, हामीले सेवा रोकेका छैनौँ,’ उनले भने, ‘पालिकालाई सेवाग्राहीले सम्पर्क गरेसम्म हामीले पालिकामा उपलब्ध निजी साना गाडी प्रयोग गरेर पनि सेवा दिएका छौ ।’ साथै उनले सेवाग्राहीले अन्य गाडी प्रयोग गरेबापत पालिकाले गाडी भाडाको रकमसमेत भुक्तानी गर्ने गरेको जानकारी दिए ।
यस्तै गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ९ का वडाध्यक्ष दीपक खड्काले यो एम्बुलेन्स पुरानो भएकाले मर्मत गर्न निकै खर्च लाग्ने भएकाले मर्मत गर्न नसकिएको बताए । ‘एक पटक मर्मत गर्दा पनि धेरै रकम लाग्छ । मर्मत ग¥यो फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो । अहिले त्यसै थन्क्याइएको छ ।’ उनले भने ।
मर्मत गरेर पार लाग्ने नदेखिएपछि कर्णाली प्रदेश सरकारको १५ लाख रुपैयाँ र पालिकाको पाँच लाख गरी २० लाख बराबरको एम्बुलेन्स आउन लागेको अध्यक्ष खड्काले बताए । साथै अध्यक्ष खड्काले पनि केही समय अगाडी छिट्टै नयाँ एम्बुलेन्स ल्याउने तयारी भइरहेको जानकारी दिएका थिए । तर उनीहरूको त्यो भनाइ बोलीमा मात्रै सीमित भएको छ ।
बिग्रेर थन्किएको एम्बुलेन्समा शिवालय गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवा लेखिएको छ । तर, एक दिन पनि सेवा भने दिएको छैन । झट्ट हेर्दा नयाँ देखिए पनि त्यत्तिकै थन्क्याएर राखिएकाले एम्बुलेन्सको पार्ट पुर्जा नै काम नलाग्ने भइसकेका छन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।