
सुर्खेत बसपार्क
सुर्खेत । गत शनिवार राति ७ बजे दैलेखबाट नेपालगन्ज जान दैलेखका ४२ वर्षीय राजबहादुर नेपाली सुर्खेत आए । उनी राति सुर्खेत पुगेकाले त्यो रात सुर्खेतमै बसे । बिहानको ७ः३० बजे उनी बसपार्क पुगे । बसपार्क पुग्ने बित्तिकै राजबहादुरलाई ४/५ जना केटाहरूले तानातान गर्न थाले । उनी कहाँ जाने हुन् ? तानातान गर्ने कसैलाई थाहा थिएन ।
खाली यो गाडीमा चढ्नुस् भन्दै हात समातेर तानातान मात्र गरे । उनले नेपालगन्ज जाने गाडी कुन हो ? भनेर सोधे । त्यसपछि उनलाई तानिरहेका दुई.तीन जनाले आफूले खोजेको यात्रु नभएको ठानेर उनलाई छाडे । अरू एक दुई जनाले नेपालगन्ज हाम्रो गाडी जान्छ भन्दै फेरि तानातान सुरु गरे। उनले आफूलाई हतार छ भन्दै पहिला कुन गाडी जान्छ भनेर सोधे ।
एक जनाले हाम्रो गाडी जान्छ भन्दै उनलाई समातेर लिएर गए । अन्ततः उनलाई एउटा गाडीमा जबरजस्ती बस्न बाध्य पारियो। उनले आफूलाई मात्र नभई अरू यात्रुलाई पनि त्यस्तै व्यवहार गरेर तानातान गरेको गाडीबाट प्रष्ट देखे । तानातान मात्रै होइन बस व्यवसायीबिच बोलाबोल र झगडा गरेको देखे । उनीहरूबिचको विवादलाई नजिकै रहेको प्रहरीले पनि केही प्रतिक्रिया नजनाई नियाली मात्रै रहेको उनले बताए ।
वीरेन्द्रनगरमा रहेको एउटा मात्रै बसपार्कमा यस्ता घटना दिनहुँ भइरहन्छन्। यो त एउटा प्रतिनिधि घटना मात्रै थियो । विशेषतः गाडीका सहचालकहरू अटोमा बसेर यात्रुहरू आएको ठानी अटो रोक्नै दिँदैनन् । उनीहरू चलिरहेको अटोलाई रोकेर समेत यात्रुहरूलाई तानातान गर्छन् । कतिपय वीरेन्द्रनगरको एक चौकबाट अर्को चोक जान लागेका अटोमा बसेका यात्रुहरूलाई समेत रोकेर तानातान गर्दै सास्ती दिने गरेको गुनासो यात्रु र अटो चालकको छ ।
यात्रु कता जाने हो थाहा नभएपनि तानातान गर्ने गरेको यात्रुहरूको गुनासो छ। यात्रुको झोला र यात्रुको हात तान्न पुग्ने यस्ता अनौठो कार्य बसपार्कमा दैनिक देखिन्छ । लामो दुरीको यात्रा गर्ने यात्रुले मात्रै होइन, पैदल हिँड्ने यात्रुले पनि वीरेन्द्रनगर बसपार्कमा हिँड्दा ठुलै झन्झट बेहोर्नु परिरहेको छ। कतिपय अवस्थामा यातायात सञ्चालकहरूबिच नै कुटाकुट हुने गरेको बसपार्क नजिक व्यवसाय सञ्चालन गरेर बस्नेहरू बताउँछन् ।
‘यस्तो झगडा त कति हुन्छ हुन्छ। एउटा मान्छे बसपार्क नजिकबाट मात्रै हिँड्यो भनेपनि त्यसलाई तान्न पाँच जना भन्दा धेरै पुग्छन्। एउटा मान्छेलाई तानातान गर्दागर्दै उनीहरूबिचमा नै झगडा हुन्छ। बेकारमा यात्रुहरू भने आत्तिइरहेका हुन्छन्,’ बसपार्क नजिकै खाजा पसल सञ्चालन गरिरहेकी एक जना महिलाले भनिन् । उनले यस्तो झगडा छुट्टाउन प्रहरी पनि नआउने उनले बताइन।
बुधवार मात्रै बसपार्कमा दुई बस व्यवसायीबिच लफडा हुँदा एक जना घाइते भए । बुधवार बिहान ८ः३० बजेको समयमा संयुक्त यातायात प्रा।लि र हिल्सा यातायात प्रा.लिबिच यात्रुका विषयमा लफडा हुँदा बस व्यवसायीका एक जना कर्मचारी घाइते भए। यात्रुको विषयलाई लिएर दुई व्यवसायीले हात हालाहाल गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा बमबहादुर पोखरेल र सिंहबहादुर रावल रहेका छन् । यस्तै, ६ माघ २०८० मा पनि सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरको विषयलाई लिएर दुई यातायात प्रा.लिबिच झडप हुँदा दुईजना घाइते भए। वीरेन्द्रनगर–१० बुलबुले चौक नजिकै भिजिट कर्णाली यातायात प्रा।लि र संयुक्त यातायात प्रा।लिबिच टिकट काउन्टरको विषयलाई लिएर झडप हुँदा दुई जना घाइते भएका थिए ।
संयुक्त यातायात व्यवसायीमा आबद्ध केही व्यक्तिहरूले हतियार प्रहार समेत गरेका थिए । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले यात्रु खोसाखोस गर्नु राम्रो नभएको भन्दै प्रहरी एक्सनमा जाने बताए । उनले प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो २/३ बजेसम्म प्रहरी निरीक्षकको कमान्डमा टोली खटाएर सेवा प्रवाह व्यवस्थित बनाइरहेको बताए ।
उनले यात्रु खोसाखोस गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारबाही अगाडी बढाउने जानकारी दिए । यसबारेमा बुझ्न खोज्दा संयुक्त यातायात समितिले भने यात्रु खोसाखोस नभई व्यवस्थित तरिकाले बसपार्कबाट यात्रु चढाउन आग्रह गरेको दाबी गरेको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।