
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रदेशका दशै वटै जिल्लामा ‘एक घर एक सङ्गठित सदस्य’ को योजना अघि सार्ने निर्णय गरेको छ । पार्टीको सातौँ केन्द्रीय कमिटीले अगामी वर्ष २०८१ लाई सङ्गठन शुद्धीकरण र सदृढिकरण वर्षका रूपमा अघि बढाउने निर्णय अनुसार कर्णाली प्रदेश कमिटीको दोस्रो बैठकले मातहतका दश वटै जिल्लामा उक्त नीतिलाई अभियानकै रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
अहिले भएका पार्टी सदस्यहरूलाई पार्टी केन्द्रको नीति र कार्यक्रमका बारेमा जानकारी दिँदै निष्क्रिय पार्टी सदस्यलाई बिदाइ गर्ने निर्णय गरेको एमाले कर्णालीले कम्तीमा ‘एक घरमा एक एमाले सदस्य’ बनाउने लक्ष्यलाई पुरा गर्न जिल्ला र पालिका स्तरका कमिटीलाई निर्देशन दिएको एमाले कर्णाली प्रदेश सचिव धुर्ब कुमार शाहीले जानकारी दिए ।
एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकले पछिल्लो समयको परिवर्तित राजनीतिलाई सकारात्मक रूपमा लिएको छ । ‘हाम्रा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा जुनखाले परमादेशी गठबन्धनलाई टुटाएर वामपन्थी शक्तिहरूको गठबन्धन गर्ने काम भएको छ, त्यो निकै स्वागतयोग्य कुरा हो’, बैठकका निर्णयहरूका बारेमा जानकारी दिँदै प्रदेश अध्यक्ष शाहले भने, ‘पार्टीको निर्णयअनुसार केन्द्रमा भएको पछिल्लो गठबन्धनको खुलेरै प्रशंसा गर्ने निर्णय प्रदेश कमिटीले गरेको छ ।’
बैठकले पार्टी केन्द्रको निर्णय बमोजिम अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको अधिवेशन अगामी २०८१ वैशाख १५ गतेसम्मको समायसिमा निर्धारण गरेको अध्यक्ष शाहले जानकारी दिए ।उनकाअनुसार बैठकले प्रदेश कमिटीको सचिवालय गठन गरेको छ । तत्कालका लागि यसभन्दा अघिल्लो कार्यकालमा सचिवालय रहेर काम गरेका र यो पटक पनि प्रदेश कमिटीमा निर्वाचित भएका १२ जना सदस्य र ५ जना पदाधिकारीहरू रहेको १७ सदस्यीय सचिवालय गठन गर्ने निर्णय भएको छ ।
सचिवालयमा भूगोल समावेशितालाई ध्यान दिएर पूर्णता दिन, प्रत्येक प्रदेश कमिटी सदस्यलाई जिम्मेवारी दिँदै प्रदेश कमिटीको जिम्मेवारी विभाजनको गृहकार्य गर्ने अधिकार प्रत्यायोजनको निर्णय समेत बैठकले गरेको छ, अध्यक्ष शाहले भन्नुभयो, प्रदेशका दश वटै जिल्लाका पार्टी सदस्यता वितरण र नवीकरणको काम चैत महिना भित्रमा सकाउने हरेक कमिटीका ठोस योजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ ।
पार्टीका प्रदेश इन्चार्ज तथा केन्द्रीय कमिटी सचिव लेखराज भट्टको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको बैठकले पार्टी अध्यक्ष शाहले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, दश वटै जिल्लाका पार्टी अध्यक्षले प्रस्तुत गर्नु भएको जिल्लागत रिर्पोटलाई पारित गर्ने निर्णय गरेको छ ।
साङ्गठनिक टक्सिनलाई बढ्न नदिऊँ : कर्णाली इन्चार्ज भट्ट
नेकपा (एमाले)का कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको आन्तरिक जीवनको विकारका रूपमा रहेको टक्सिनलाई बढ्न नदिन प्रदेश कमिटीका सदस्यहरूलाई निर्देशन दिएका दिएका छन् ।
सुर्खेतमा जारी कर्णाली प्रदेश कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव भट्टले मानव शरीरमा विकार उत्पादन गर्ने टक्सिन जस्तै सांगठनलाई कमजोर बनाउने विभिन्न व्यक्ती र तत्त्वहरूले टक्सिनको काम गरेकाले त्यस्ता टक्सिनहरूलाई बढ्न नदिनप्रति सबै नेता कार्यकर्ता सजग रहनुपर्ने निर्देशन दिए ।
पार्टीको हेटक्वाटरले राष्ट्रिय राजनीतिमा जुनखाले निर्णय लिएको छ त्यो पार्टी र देशकै लागि दीर्घकालीन महत्त्व राख्ने उल्लेख गर्नु भएका नेता भट्टले हामीले आफ्नो पालिका, जिल्ला, प्रदेश र व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर निर्णयलाई हेर्ने गर्छ तर नेतृत्वले ७७ वटै जिल्ला ७५३ वटै पालिका र सम्पूर्ण नेपाली नागरिकको सामूहिक स्वार्थलाई केन्द्रमा राखेर निर्णय गर्ने भएकाले केन्द्रको निर्णयलाई अक्षरंस पालना गर्न निर्देशन दिए ।
पार्टी अध्यक्षले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई तीन दिन राखेर गरेको छलफलपछि कर्णालीप्रति केन्द्रीय नेतृत्वको धारणा निकै सकारात्मक भएको उल्लेख गर्दै अबको निर्णय कर्णालीमैत्री हुनेमा विश्वास व्यक्त गरे । ‘कर्णालीका दश वटै जिल्लाका अध्यक्ष, प्रदेश कमिटीका सदस्य र कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरूको भावना र स्प्रीट मैले राम्रोसँग बुझेको छु’ उनले थपे, ‘मैले पार्टीको सचिवालय बैठकमा यो कुरा नेतृत्वलाई जस्ताको त्यस्तै अवगत गराउने छु ।’
बैठकलाई संशोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य यमलाल कँडेलले सम्बन्धित कमिटीलाई काम गर्न नदिएर माथिल्ला कमिटीले अनावश्यक रूपमा गर्ने स्वार्थगत हस्तक्षेप मात्रै नगर्ने हो भने पार्टी भित्रको विवाद सकिने ठोकुवा गरे ।
‘पार्टी केन्द्रका अभियानका नाममा जिल्लाका गतिविधि सार्ने, आफ्नो स्वार्थमा नेतृत्वलाई विवादमा तान्ने गतिविधि अब हरेक पार्टी सदस्यले छोड्नु पर्छ कर्णाली प्रदेश सभाका दलका नेता समेत रहेका नेता कँडेलले थपे’ थप्नुभयो ‘प्रदेश/जिल्ला/पालिका कमिटीको ऋणको भारी पार्टी सदस्यलाई बोकाउने काम राम्रो हुँदैन । हरेक कमिटीले आफ्नो आर्थिक योजना आफैले बनाउनुपर्छ ।’
बैठकमा स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले प्रदेश कमिटीको दोस्रो बैठकले सौहाद्र्धपूर्ण तवरले गरेका राम्रा निर्णयको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । पार्टी प्रदेशको बैठकमा पार्टी अध्यक्ष उपस्थित हुने योजना परिवर्तित राष्ट्रिय राजनीतिक घटनाक्रमले अन्तिममा आएर रद्द भएको जानकारी गराएका नेता बोगटीले अधिवेशनको नेतृत्व छनोटलाई लिएर कुनै पनि नेता कार्यकर्ताले समूह निर्माण गर्न नहुने उल्लेख गरे ।
बैठकमा पार्टीका पोलिटब्युरो सदस्य मोहन बानिया, भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरूको उपस्थिति रहेको एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ ।
