२०८३ वैशाख १४ , सोमबार

साँघुरो सडकमा तीव्र गतिले सवारी चलाउँदा जोखिम



हुम्ला । हिमाली जिल्ला हुम्लामा आन्तरिक सडक जोडिए लगत्तै सवारी साधनको कमी छैन् । भित्रिएका सवारी साधनको तीव्र गतिले दुर्घटना हुने सम्भावना बढी देखिएको छ । जिल्ला सदरमुकाम सिमकोट बजारको सडकमा तीव्र गतिले सवारी साधन चलाउने चालकको कमी छैन । जिल्लामा नेपाल ट्राफिक कार्यालय स्थापना भएपनि ट्राफिक प्रहरी देख्न मुस्किल पर्दछ ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको ठूलो भूमिका भएपनि ट्राफिक कता छन् ?, के गर्दै छन् ?, त्यो कसैलाई थाहा छैन् । सदरमुकाम बाहेक अन्य सडक कच्ची छ । त्यहि कच्ची सडकमा ट्याक्टर, बोलेरो जीपले ओभर लोड लिँदा दुर्घटना नहोला भन्न सकिँदैन । त्यस्तै बजारको साँघुरो सडकमा तीव्र गतिले सवारी साधन चलाउँदा ट्राफिकले हेरेर कारबाही गर्नु पर्ने हो ।

ट्राफिक प्रहरी नहुँदा सवारी साधन साँघुरो सडकमा मनपरी तीव्र गतिमा चलाउँदै आएका स्थानीय मुक्ति लामिछानेले बताए । बजारको सडक तलमाथि हिँड्दा बाटो काट्दा बालबालिका र वृद्धवृद्धालाई थाहा छैन् । तीव्र गतिमा चलाएको सवारी साधनले मान्छेलाई दुर्घटना पार्ने सम्भावना देखिएको बजारमा व्यवसाय गर्दै आएका रामजन रावतले बताए ।

उनले भने ‘बजारमा मात्र नभएर आन्तरिक सडक जोडिएका गाउँमा जाँदा पनि क्षमता भन्दा बढी लोड हाल्नु, सिटभन्दा बढी यात्रु बसाल्ने हुँदा सानो गल्तीले पनि दुर्घटना हुने देखिन्छ ।’ ट्राफिकले भने कहिलै पनि यसको निगरानी गरेको देखिँदैन ।

आन्तरिक सडकमा ट्याक्टरले पनि यात्रु बोक्दै आएको छ । सदरमुकाम सिमकोटदेखि विभिन्न गाउँ जाने सडकमा बालुवा, गिट्टी, माटो, ढुंगा राखेर साँघुरो बनाएको हुँदा पनि दुर्घटना नहोला भन्न सकिँदैन । जिल्लामा २० भन्दा बढी बोलेरो जीप, १८ भन्दा बढी ट्याक्टर र २४ जति मोटरसाइकल रहेका छन् । सदरमुकाम सिमकोट अझैँ राष्ट्रिय सडकमा जोडिएको छैन ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार