
सुर्खेत । वीरेन्द्रनगरका कृषकहरुलाई जैविक तथा वानस्पतिक विषादी निमार्णको लागि आवश्यक सामाग्री सहयोग गरिएको छ । एकीकृत कृषि प्रयोगशाला सुर्खेतले वीरेन्द्रनगर १ सृजना टोल सुर्खेतको सृजना कृषि तथा पशुपालन कृषक समूहमा आबद्ध कृषकहरुलाई जैविक तथा वानस्पतिक विषादी निमार्णको लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।
कृषकलाई जैविक विषादी बनाउनका लागि आवश्यक ड्रम, वानस्पतिक विषादी, निमको तेल, इएम, जैविक विषादी बनाउने सामाग्री, हजारी, भेली, किरा नियन्त्रणको लागि प्रयोग गरिने पासो लगायतका सामाग्री हस्तान्तरण गरिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख पर्शुराम रावतले जानकारी दिए । प्रमुख रावतकाअनुसार २५ जना कृषकलाई जैविक विषादी निमार्ण गर्ने सामाग्री हस्तान्तरण गरेर बनाउने तरिका पनि सिकाइएको छ ।
विषादी बनाउने सामाग्री वुझेपछि कृषकहरुले अर्ग्यानिक तरकारी खेतीगर्नको लागि सिचाईको समस्या भएको सृजना कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष खगिसरा गिरीले बताए । जमिन छ पानी छैन,प्रयाप्त पानी भएको भए तरकारी लगायतका अन्य वालिमा राम्रो सिचाई हुन्थ्यो, रासायनिक विषादी प्रयोग कम हुन्थ्यो र बिस्तारै हट्थ्यो त्यसैले सिचाइको व्यवस्था गरिदिन माग गर्दछु उनले भने ।
घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन र पर्यावरणको आधार भन्ने मूल नारासहित यही फागुन २४ गते देखि ३० गते सम्म कर्णाली प्रदेशमा विषादी मुक्त सप्ताह सुरु भएको छ । सप्ताह अन्तरगत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको एकीकृत कृषि प्रयोगशालाले विद्यालय,सार्वजनिक स्थान, कृषक समूह लगायतका ठाउँमा गएर जैविक विषादीको प्रयोग सम्बन्धी सन्देशमूलक जानकारी, प्रचारप्रसार, अन्तरक्रिया, छलफल गर्दै आएको रावतले बताए ।