२०८३ वैशाख १४ , सोमबार

चार वटा विधेयक पारित गर्दै भेरीगंगाको १४ औँ नगरसभा सकियो



भेरीगंगा । सुर्खेतको भेरीगंगा नगरपालिकाको १४ औँ नगरसभा तथा हिउँदे अधिवेशनबाट चार वटा विधेयक पारित भएका छन् । नगर सभामा पेस भएका पाँच वटा विधेयक मध्ये चार वटा मात्रै सभामा छलफलपछि पारित गरिएको भेरीगंगा नगरपालिका नगरप्रमुख यज्ञ प्रसाद ढकाले बताए ।

नगर प्रमुख ढकालका अनुसार भेरीगंगा नगरपालिकाको दलित सशक्तीकरण विधेयक २०८० र भेरीगंगा नगरपालिकाको संस्था दर्ता विधेयक २०८० सभामा पेस भएका विधेयक सभाले पारित गरेको छ । नगर सभाबाट भेरीगंगा नगरपालिकाको जलचर तथा जलीय जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, भेरीगंगा नगरपालिकाको वन संरक्षण विधेयक २०८० पारित भएका छन् ।

साथै कार्यपालिका बैठकबाट पारित भई नगर सभामा पेस भएको भेरीगंगा नगरपालिका नगर योजना आयोग (गठन तथा सञ्चालन) विधेयक, २०८० थप छलफल गरी अर्को बैठकमा पेस गर्ने गरी स्थगित गरिएको जानकारी दिए । बैठकमा दलित सशक्तीकरण विधेयकमाथि कार्यपालिका सदस्य सहवीर महर र शेर बहादुर कामीले सुझाव राखेका थिए ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार