२०८३ वैशाख १४ , सोमबार

वीरेन्द्रनगरमा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला



सुर्खेत । वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी वर्ष ३२ का अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन् । मंगलवार बिहान ११ बजे पट्टेल आफु सुतेको घरमा घाँटी काटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ । साथै घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ । ‘पट्टेल बिहान ११ बजे मृत फेला परेको त्यहाँका स्थानीयले जानकारी गराउनुभयो ।’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने खबरदृष्टिलाई भने ‘हामी त्यहाँ गएको बेला उनको घाँटीमा गहिरो चोट लागेको थियो, ब्लड बगिरहेको थियो, उनकै कोठामा ब्लड लागेको चुलेसी फेला परेको छ।’

ति प्रहरीकाअनुसार उनी लामो समयदेखि वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएका थिए । घटनाको प्रकृति हेर्दा उनले आफैले घाँटीमा चुलेसी प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पट्टेलका घरपरिवारले आफुहरु सुर्खेत आउँदै गरेकाले शवलाई सुरक्षित कोठामै राख्न प्रहरीलाई अनुरोध गरेका छन् ।

‘घरपरिवार आउँदै छन् रे त्यतिबेलासम्म शवलाई नचलाउँन भनिएको छ, हामीले कोठा बन्द गरेर शवलाई भित्रै सुरक्षित राखेको छौँ ।’ ति प्रहरीले भने । ‘अहिले मलाई यति नै जानकारी छ बाँकी अनुसन्धानबाट खुल्न सक्छ ।’

प्रकाशित मिति : २०८० फागुन २९ गते मंगलबार