२०८३ वैशाख १३ , आइतबार

उत्पादन घट्दै गएपछि रैथाने बाली लोप हुने खतरा



कुलेन्द्र शाही, सुर्खेत । कुनै समय साबिकको भेरी र कर्णाली अञ्चलका जिल्लाहरूमा लटरम्म रैथाने बालीहरू फल्थे । यस्ता बालीको उत्पादन धेरै हुन्थ्यो । कृषकको आकर्षण पनि उत्तिकै थियो । पछिल्लो समय ती बालीहरू कमै मात्र उत्पादन हुन्छन् । कर्णाली प्रदेशमा अधिकांश रैथाने बाली लोपोन्मुख अवस्थामा छन् । परम्परागत बालीप्रतिको घट्दो आकर्षणले कतिपय लोप भइसकेका छन् ।

लागत अनुसार उत्पादन हुन छोडेपछि किसानहरू रैथाने बालीको खेती छाड्न थालेका हुन् । दुःख गरेअनुसार उब्जनी नहुने, हुर्कनै समय लाग्ने, रोग र किराबाट बाली जोगाउनै मुस्किल भएपछि किसानहरूले रैथाने बालीको खेती गर्नै छाडेका हुन् । पछिल्ला वर्षमा फापर, चिनो, कागुनो, उवा, कोदो र जौ लगायतका स्थानीय जातका बालीको उत्पादन क्रमशः घट्दो छ ।

उत्पादन घट्दै गएपछि स्थानीयले कतिपय रैथाने बालीको खेती नै गर्न छाडेका छन् । खेती नै गर्न छाडेपछि हिजोआज कतिपय स्थानीय जातका रैथाने बालीको बीउ नै नपाउने अवस्था आएको छ । जुम्ला हिमा गाउँपालिकाका किसान रण रोकायाले भने, ‘धेरै उत्पादन हुने आसमा हिजोआज हामीले हाइब्रिड जातका बालीको खेती गर्न थालेका छौँ । रैथाने बालीलाई व्यावसायिक बनाउनुपर्छ भन्ने चलन हटिसकेको छ ।

परम्परागत मानसिकताले समस्या
जाजरकोटका एक जना किसान रामबहादुर शर्माले गाउँमा अधिकांशले पहिलेदेखि खेती गर्दै आएको जौ, कोदो जस्ता रैथाने बालीको खेती गर्न छाडिसकेको बताए । खाद्य संस्थानको चामल जिल्लामा भित्रिनुभन्दा पहिला जिल्लाको दोस्रो मुख्य बालीको रूपमा रहेको कोदोको खेती गर्नेहरू पनि पछिल्लो समय जाजरकोटमा निकै घटिसकेका छन् ।

स्थानीयहरूले हेला गरेका कारण जाजरकोटमा मात्रै हैन, कर्णाली हिमाली जिल्लामा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । ‘पहिले जाजरकोटको सबै ठाउँमा कोदो, मकै, जौ जस्ता बालीहरू प्रशस्त लगाइन्थ्यो,’ उनले भने ‘अहिले ती देखिनै छोड्यो । यस्तै हो भने हाम्रो छोरा नातिको पुस्ताले त कोदो, जौ भन्ने बाली नै चिन्दैनन् होला ।’

गाउँघरमा गरिबले मात्र कोदो, जौ र मकैबाट बनेका परिकार खान्छन् भन्ने परम्परागत मानसिकता भएकोले पनि स्थानीय बालीहरू धेरैले लगाउन छोडेको उनको बुझाइ छ । उनले कोदो दिएर चामल गहुँ समेत साट्ने गरेको बताए ।

हिमाली जिल्लाहरू रैथाने बालीको खेती घट्दो
कर्णालीका हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा रैथाने जातका बालीको खेती घट्दो छ । उत्पादनमा आएको ह्रासका कारण स्थानीयले खेती गर्न छाडेपछि कतिपय रैथाने बालीहरूको अस्तित्व नै सङ्कटमा परेको हो । चिसो र हिमाली हावापानीमा फल्ने चिनो, कागुनो, उवा, फापर, मार्से, जुम्ली मार्सी, कोदो, सिमी र जौ लगायतका रैथाने बालीहरू सङ्कटमा पर्न थालेका छन् ।

वातावरणविद् सञ्चित कँडेलका अनुसार पहिलाको तुलनामा जलवायु परिवर्तनले हिउँ कम मात्र पर्ने गरेको, हिउँ पर्न छाडेपछि बिस्तारै हिमाली क्षेत्रको तापक्रम पनि वृद्धि हुँदै जाँदा त्यहाँका रैथाने बालीलाई अनुकूल वातावरण भएन । ती बालीमा रोग र किराको प्रकोप पनि बढ्न थाल्यो । र यसले उत्पादन पनि घट्दै गएको हो ।

रैथाने बाली लोप हुने अवस्थामा पुग्दा स्थानीय किसानको जीविकोपार्जनमा नै समस्या उत्पन्न हुन थालेको छ । तर स्थानीय किसान भने के कारणले रैथाने बालीको उत्पादन घट्यो भन्ने विषयमा जानकार छैनन् । बरु उत्पादन बढी हुने बालीको खोजीमा किसानहरू भौँतारिने गरेका छन् । मार्सी, सिमी र फापरको बजारमा माग बढेको भए पनि उत्पादन भने वृद्धि हुन सकेको छैन ।

रैथाने बालीको उत्पादन वृद्धि र बीउ संरक्षणमा प्रभावकारी योजना र कार्यक्रम नहुँदा यी बालीहरू सङ्कटमा पर्न थालेको किसानहरू बताउँछन् । पछिल्लो समय हिमाली क्षेत्रका किसानले उत्पादन बढी हुने आसमा हाइब्रिड तथा उन्नत जातका बीउको खेती गर्न थालेका छन् ।

यसले गर्दा पनि रैथाने बालीहरू सङ्कटमा पर्न थालेका हुन् । साथै रैथाने बाली हराउँदै जानुको अर्को कारण पहाडबाट तराईतर्फ भइरहेको बसाइसराइ पनि हो । कतिपय ठाउँमा किसानहरू बसाइसरेर बाहिर जाने हुँदा जग्गा बाँझै रहने गरेको छ ।

कृषकको आकर्षण र उत्पादन घट्दो
सरकारले बाली संरक्षकका लागि विभिन्न कार्यक्रम लागू गरे पनि कृषकको रुचि भने अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । स्थानीय स्तरमा बालीको महत्त्व, सम्भावना र जानकारीको अभावले कृषकको आकर्षण र उत्पादन दुवै घट्दो देखिन्छ । उत्पादन थोरै भए पनि परम्परागत अन्नबालीको बजार माग बढ्दो छ ।

कर्णालीको सिमी र मार्सी चामलको माग स्वदेशमा मात्र नभई विदेशमा पनि उस्तै छ । यहाँ उत्पादित अर्ग्यानिक कृषि वस्तुको माग झनै बढिरहेको व्यवसायीहरू बताउँछन् । कर्णाली भित्रिने हरेक आन्तरिक तथा बाह्य पर्यटकले समेत स्थानीय अन्नबालीबाट बनेका खाना मन पराउने गरेका छन् ।पछिल्लो समय कृषकहरूले परम्परागत अन्नबाली उत्पादनमा जोड नदिँदा ग्रामीण भेकका धेरै स्थानमा जमिन बाँझै रहने गरेका छन् ।

खेती गर्नभन्दा वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्या अधिक छन् । युवा जनशक्तिलाई कृषि पेसामा आबद्ध गराउने आवश्यक नीति र कार्यक्रमको अभावमा परम्परागत खेती लोप हुँदै गएको हो । स्थानीय स्तरमा उत्पादन हुने अन्नबालीको संरक्षण, विकास र उत्पादनतर्फ ध्यान नजाँदा कर्णालीको अर्थतन्त्रसमेत परनिर्भर बनेको छ ।

नौ वटा रैथाने बाली सूचीकृत
कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षणका लागि पहल भइरहेको जनाएको छ । रैथाने बालीको अस्तित्व जोगाउन र किसानलाई यसको खेतीमा आकर्षित गर्न कर्णालीमा उत्पादन हुने नौ वटा रैथाने प्रजातिका बालीहरू सूचीकृत गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चिनो, कागुनो, उवा, मार्से, फापर, जुम्ली मार्सी, कोदो, जौ र सिमीलाई रैथाने बालीको रूपमा सूचीकृत गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथाने बाली संस्कृतिसँग जोडिएकाले सम्पदाको उपमा दिएर ती रैथाने बालीको उत्पादनहरू बिक्री गर्नेले अब अनिवार्य रूपमा ‘मूल्य वान’ अङ्कित लोगो राख्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

कठायतका अनुसार रैथाने बालीको बजार माग धेरै छ, मूल्य पनि राम्रो छ । तर उत्पादन भने हुन सकिरहेको छैन । रैथाने बालीको उत्पादन बढाउन र ती बालीको संरक्षणका लागि मन्त्रालयले प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८० चैत ६ गते मंगलबार