
सुर्खेत । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम अपचलन गरेर फरार रहेका बैकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैङ्कको अपरेसन इन्चार्ज पदमा कार्यरत कर्मचारी नीरज विक्रम शाहलाई पक्राउ परेको हो । पक्राउ परेका शाहलाई शुक्रवार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाहबाट शाहलाई पक्राउ गरिएको जानकारी दिए । शाहले बैङ्कमा कार्यरत रहँदा बैङ्कको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै प्रभु बैङ्कका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्दा दर्ता गराएका थिए । तिमिल्सिनाले आठविसकोट नगरपालिकाको खाताको तीन वटा चेक मार्फत उक्त रकम अपचलन गरेको आरोपमा बैङ्किङ कसुर शीर्षकमा मुद्दा चलेको थियो ।
उपरीक्षक भट्टराईअनुसार शाहले बैङ्कमा कार्यरत रहँदाको समयमा माघ ०७ गते, १७ गते र १९ गते आठविसकोट नगरपालिकाको प्रभु बैङ्क लिमिटेडको शाखा कार्यालयमा रहेको खाताबाट कानुन प्रतिकुल कार्य गरी बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ५ विपरीत आठबिसकोट नगरपालिकाको खाताबाट पटक पटक गरेर २९ लाख, ७८ लाख ७५ हजार र २३ लाख ५० हजार रुपैयाँ गरी जम्मा एक करोड ३१ लाख २५ हजार रुपैयाँ अनधिकृत रूपमा अपचलन तथा दुरुपयोग गरेर फरार थिए ।
शाहलाई पक्राउ गर्नको लागि उच्च अदालत सुर्खेतबाट फागुन १२ गते पक्राउ अनुमति जारी भई आएकोमा प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरी बिहीबार पक्राउ गरेको हो । सोही दिनबाट उच्च अदालत वीरेन्द्रनगर सुर्खेतबाट पहिलो पटक दिन ७ को म्याद थप गरी शाहलाई हिरासतमा कक्षमा राखेर अनुसन्धान भइरहेको उपरीक्षक भट्टराईले जानकारी दिए ।