
सुर्खेत । सुर्खेत चिङ्गाड गाउँपालिकाको मटेला बजारको अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको अगुवाइ खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, प्रहरी चौकी मटेला, र नेपाल पत्रकार महासङ्घको समन्वयमा बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा फेला पारिएका म्याद सकिएका अखाद्य वस्तु कानुनीरुपमा बिक्री वितरण गर्दै आएको भेटिएको छ । अनुगमनका क्रममा अधिकांश म्याद म्याद गुज्रिएका सामानहरू फेला परेको उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुगमन अधिकृत माधव प्रसाद न्यौपानेले जानकारी दिए ।
म्याद गुज्रेका झन्डै ३० हजार बराबरको सामानहरू नष्ट गरिएको उनले बताए । करिब ३० वटाभन्दा बढी पसलहरूको अनुगमनमा म्याद गुज्रिएका सामानहरू भेटिएको र ती सामानहरू बरामद गरेर नष्ट गरिएको अधिकृत न्यौपानेले जानकारी दिए ।
उनले आगामी दिनमा यस्ता सामानहरू भेटिए कारबाही हुने चेतावनी समेत दिएको बताए । खाद्यान्न, खुद्रा, खाजाघरहरुको अनुगमन गरिएकोमा भन्दै सबैभन्दा धेरै पेय पदार्थ अन्तरगतका कोकहरू बजारभर म्याद सकिएको बिक्री वितरण हुने गरेको उनले बताए ।
अनुगमनको क्रममा केही पसलहरूले न्यूनतम मापदण्ड समेत प्रयोग नगरेको दर्ताबिना पसलहरू सञ्चालन गरेको पाइएकाले तत्काल मापदण्डअनुसार पसलहरू सञ्चालन गर्न निर्देशन दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले जानकारी दिए ।