२०८३ वैशाख १३ , आइतबार
वैदेशिक रोजगारीले निम्त्याएको पीडा

छोराे जिउँदै फर्कने आशामा छन् नवीनका बाबुआमा 



 

जाजरकोटका मृतक नवीन शाही

कुलेन्द्र शाही, सुर्खेत । २०७८ सालको असोज महिनामा जाजरकोटको शिवालय गाउँपालिका–६ बस्ने ३२ वर्षका नवीन शाही खाडी मुलुक दुबई गए । उनी करिब ४ लाख रकम खर्च गरेर त्यहाँ गएका थिए । घरमा आर्थिक अभावको त्यसैमा पनि ऋणको भारी बोकेका शाही ऋण निकालेरै विदेश जान बाध्य भएका थिए।

त्यहाँ पनि उनको राम्रो कमाई भएन। लगेको ऋण तिर्न हम्मेहम्मे भएपछि उनी रसिया जाने सुर कसे। असोजको महिना दसैँ तिहारको रमझम छोडेर उनी दुबई हिँडेका थिए। शाहीले निरन्तर २ वर्षभन्दा बढी दुबईमा काम गरे । सामाजिक सञ्जाल साथी भाइहरूको लहलहैमा लागेर उनले  रुस जाने योजना बनाएका थिए। आफ्नै गाउँ ठाउँका साथीहरूले बढी पैसा कमाएको समाचार सुनेर उनी रुस जानलाई तयार भए ।

आफूसँग भएका पैसाहरू नियमितरुपमा घरमा पठाउने गरेका उनले लागेको ऋण भने तिर्न सकेका थिएनन्। रुस जाने निधो गरिसकेपछि शाहीले आफ्नो भाइ नरेशलाई फोन गरेर आफू दुबईबाट रुस जान लागेको जानकारी गराए। उनले रुसमा कमाइ राम्रो हुने भएकोले त्यता जान लागेको बताएका थिए ।

उनले भाइलाई सकिन्छ भने पैसा सहयोग गर्न भनेको र भाइले उनलाई रसिया बाहेक अन्यत्र जाने भए सहयोग गर्ने बताए। भाइ दाइलाई रसिया पठाउने कुराको विपक्षमा थिए। उनले भने,‘दाइ अरू काममा हो भने म पैसा दिन तयार छु। तर, रुस जानु हुन्छ भने कृपया म पैसा दिन सक्दिन। उनले भाइलाई ५० हजारको मात्रै प्रस्ताव राखेका थिए।

भाइले सहयोग नगर्ने भएपछि उनले आफ्नो ससुरालीसँग सहयोगको अपिल गरे । ससुराली र अन्यको सहयोगमा परिवारलाई थाहै नदिई दुबईबाट मस्को पुगेर उनी रुसी सेनामा भर्ती भए। शाहीले भाइलाई फोन सम्पर्क गरेर रुसमा सकुशल पुगेको जानकारी दिँदै शाहीले आफू तालिममा जान लागेको र सो क्रममा मोबाइल चलाउन नपाइने भएकाले सम्पर्क हुन नसक्ने जानकारी गराए ।

 ‘म सकुशल रुस पुगे, मेरो केही चिन्ता नगर्नु म रुसी सेनामा भर्ती भएको छैन । एक/दुई दिन लाग्छ होला त्यसपछि तालिम हुन्छ, तालिममा मोबाइल लिन दिँदैन ।  म अनलाइन आए भने फोन गरिहाल्छु, दाइको भनाइलाई उदृत गर्दै नरेशले खबरदृष्टिसँग भने । उनले रुस पुगेर पहिलो पटक फोन गरेको गत पुस ३ गतेको हो ।

रुस र युक्रेनको युद्धका खबर सुनिरहेका बाबुआमाले नवीन रुसमा पुगेको सूचना घरपरिवारलाई दिए । आमाबुवाले छोरा रुसी सेनामा भर्ती भएकोमा चित्त बुझाएका थिएनन् । आमाबुवाले छोराले कमाएर ल्याउँछ र घरमा पनि राम्रो हुन्छ भन्ने विश्वास बोकेका थिए । उनी रुसी सेनामा भर्ती भएर तालिममा सहभागी भए । तालिममा सहभागी भएपछि उनले न घरमा फोन गरे न त भाइलाई नै ।

उनी एकाएक सम्पर्कविहीन जस्तै भए । सम्पर्कविहीन भएपछि बाबुआमाको अनुरोधमा उनका आफन्तले शाहीको खोजीका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर निवेदन दिएको कुनै जवाफ भने आएन । गत माघ १ मा एक अनजान नम्बरबाट भाइ नरेशको नम्बरमा मिसकल आयो । उनले त्यो नम्बरलाई त्यति वास्ता गरेनन्। पुनः उनलाई सोही नम्बरबाटै मिसकल आयो ।

उनले धेरै पटक फोन आएपछि उक्त नम्बर ह्वाटसपमार्फत फोन गरे । फोन गर्न बित्तिकै उनले रुसबाट फोन आएको हो भन्ने अनुमान लगाए । केही बेरसम्म फोनमा परिचयात्मक कुराकानी भयो । नरेशले ती व्यक्तिलाई नवीन शाही कहाँ छन् फोन दिनुन् भनेर आग्रह गरे । उताबाट जवाफ आयो, ‘नरेश यो संसारमै छैनन् । ’ ती व्यक्तिको कुरा सुनेपछि नरेश ‘छाँगाबाट खसे’ जस्तै भए।

‘दाइको फोन आउला भनेको त संसारमै छैन भन्ने कुरा सुने पनि मलाई विश्वास नै लागेन,’ नरेशले खबरदृष्टिसँग भने, ‘त्यही भएर त्यो कुरा घरमा पनि भनिन् ।’ सरकारी निकायले आधिकारिक जानकारी नगराए पनि गाउँमा हल्ला फैलिइसकेको थियो । तर उनका परिवार र भाइले हल्लाको विश्वास गरेनन् । घरपरिवार छोराको फोन आउने विश्वासमा अडिग रहे ।

तर, छोराको फोन कलको प्रतीक्षामा बसिरहेका बाबुआमाको आशामा बज्रपात हुने गरी परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्यो– रुसी सेनामा भर्ती भएका नवीनसहित ७ नेपालीको मृत्यु भयो । उक्त विज्ञप्तिमा रुसी सेनामा भर्ती भएर युद्धका क्रममा मृत्यु भएका धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको नाम थियो ।

त्यो पत्र प्राप्त भएपछि परिवारजन शोकमा डुबे । नवीनको घरमा रुवाबासी सुरु भयो ।  परराष्ट्र मन्त्रालयको विज्ञप्ति देखेपछि आमाबुवा नदीमा खसेजस्तै भएको नरेश बताउँछन् । ओरालो लाग्दै गरेको उमेरको सहाराका रूपमा रहेका नवीनको अझै पनि फोन आउँछ कि भन्ने आशमा छन् बाबुआमा । बुवाआमा दैनिकी रुँदै गरेका उनका भाइ बताउँछन् ।

दाइ रुस गएको बेला त रुँदै गरेका आमा बुवा मरेको खबर सुन्दा त झनै रुन कराउन थालेका छन् । अहिले पनि उनका आमा बुवा रोइरहेका दिनहरू काट्दै गरेका छन् । नवीनका बुवा काली बहादुरले छोरासँग भेट र फोन सम्पर्क नभएको २ वर्षभन्दा बढी भइसकेको बताए । यो खबरले कर्णालीमा सन्नाटा छाएको छ । ३२ वर्षे नवीन दुवै जानुभन्दा पहिले गाउँमै नास्ता पसल तथा खुद्रा पसल गरेर बसिरहेका थिए ।

गाउँमा भनेजस्तो कमाइ नभएपछि दुबई जान बाध्य भएका थिए । उनी ६ वर्ष नेपाली सेनामा समेत भर्ती भएका थिए । करिब ८ लाख भन्दा बढी खर्च गरेर नेपाली सेनामा भर्ती भएका शाही जागिर छोडेर विदेश जान होमिए ।नेपाली सेनाको जागिर छोडेर उनी व्यापार÷व्यवसायमा लागे । सेनाको जागिर छोडेर दुवै नगएको भए आज यो घटना हुन्थिएन् होला भन्दै उनका परिवार निराश भएका छन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिको पनि उनका आमा बुवाले अझै विश्वास गरेका छैनन् । उनका भाइ भन्छन्,‘दाइले तीन–चार महिनाअघि फोन गरेर ६ महिनाका लागि तालिममा जानुपर्ने भयो, यहाँको अवस्था त्यस्तै छ, चिन्ता गर्नुपर्दैन, ६ महिनासम्म फोन नलाग्न सक्छ, तालिम सकिएपछि म आफै फोन गर्छु भन्नुभएको थियो, उहाँले भनेको ६ महिना अझै भएकाे छैन । मन्त्रालयले यस्तो विज्ञप्ति जारी ग¥यो मलाई विश्वास नै लागेको छैन् ।’

सरकारले जारी गरेको विज्ञप्तिमा कहिले कहाँ कसरी उनको मृत्यु भयो भन्ने केही नखुलाएकाले पनि नवीनका परिवारले विश्वास गरिरहेका छैनन् । घरपरिवारका सदस्यहरू ६ महिनापछि फोन आउने आशामा छन् । नवीन घरका जेठा छोरा थिए। उनले दैलेखको शनीगाउँबाट विवाह गरेका छन्। उनका एक छोरी र छोरा छन् ।

श्रीमती दुबईमा वैदेशिक रोजगारीमा छन् । नवीन दुबई गएको दुई वर्षपछि श्रीमती पनि दुवै गएकी थिइन।उनकी श्रीमती अहिलेसम्म घर फर्केकी छैनन्। नवीनको परिवारमा परेको दर्दनाक पीडाबाट ठाकुरजात गाउँ पुरै अशान्त छ, पीडा र शोकमा डुबेको छ। यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८० चैत ११ गते आइतबार