२०८३ वैशाख १३ , आइतबार

‘बेसहाराका लागि सहारा’ बन्दै सुर्खेत मानव आश्रम



कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतमा रहेको मानव आश्रम ‘बेसहाराका लागि सहारा’ बन्दै गएको छ । मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरिरहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित नेवारेमा रहेको मानव आश्रमले कोही नहुनेको लागि मानव आश्रम भएको महसुस गराएको छ ।

सहयोगापेक्षीको सहारा बनी वीरेन्द्रनगरमा २०७५ साल पुसमा सञ्चालनमा आएको आश्रमले बेसहाराका लागि उदाहरणीय काम गर्दै आएको छ । सुर्खेतमा रहेको मानव आश्रममा अहिले ५० पुरुष र ३८ महिला गरी ८८ जनाको बसोबास रहेको छ । ती मध्ये बालक, बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता र असहाय रहेका छन् ।

मुख्यतः बेसहारा एवं असहाय भई भोकभोकै सडक पेटीमा बसोबास गर्ने र भीख माग्नेलाई सहारा दिने उद्देश्यले आश्रममा राखिएको छ । भीख माग्ने पेसा बनाई कुलत सङ्गत भई सडकमा बसोबास गर्नेलाई पनि आश्रय दिने र अभिभावक भएकालाई परिवारको जिम्मा लगाउने गरिएको मानव आश्रम सुर्खेतका संयोजक सुजन गौतमले जानकारी दिए ।

उनकाअनुसार मानव आश्रममा स्थानीय निकायको सूचना एवं सहयोगबाट सडक मानवलाई आश्रममा बसोबासका लागि ल्याउने गरिएको छ । प्रदेश सरकार, स्थानीय निकाय र समाजसेवी एवं दाताको सहयोगबाट आश्रमको दैनिक कार्य सञ्चालन भइरहेको आश्रमले जनाएको छ । अरूको सहारा बनेको मानव आश्रम आफै भाडाको घरबाट सञ्चालन छ ।

मानव सेवा आश्रम सुर्खेतले गत आर्थिक वर्ष २०७९/०८० मा ४७ जनाको उद्धार गरेको जनाएकाे छ । कर्णाली प्रदेशका १० जिल्लाहरूबाट कष्टकर अवस्थामा जीवनयापन गरिरहेका सहयोगापेक्षी सडक आश्रित ४७ जनाको उद्धार गरिएको संयोजक गौतमले बताए । जसमा ३४ पुरुष र १३ महिला रहेका छन् । गौतमले ४७ जनामध्ये ८ जनालाई पारिवारिक पुनर्मिलन गराइएको बताए ।

यस्तै २० पुरुष र ९ महिला गरी २९ जनालाई स्थानान्तरण, ३ जनाको आश्रममै मृत्यु र ६ जनाले अल्पकालीन सेवा लिएको आश्रमले बताएको छ । यस्तै वीरेन्द्रनगरमा कार्यालय स्थापनाभएदेखि हालसम्म आश्रमले ३ सय २४ जना उद्धार गरेको जनाएको छ । जसमा १९० पुरुष र १३४ महिला रहेका छन् । यस्तै ६९ पुरुष र ६४ महिला गरी १ सय ३३ जनाको पारिवारिक पुनर्मिलन, १६ पुरुष र १२ महिला गरी २८ को मृत्यु, ४० पुरुष र १३ महिला गरी ५३ जनाले अल्पकालीन सेवा लिएको आश्रमले जानकारी दिएको छ ।

संयोजक गौतमले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र घोषणाका लागि मानव सेवा आश्रमले निकट भविष्यमा नै शुभारम्भ गर्न लागेको कल सेन्टरसँग समन्वय रहने गरी प्रदेश स्तरीय आवश्यक जनशक्ति र उद्धार वाहन सहितको क्वीक रेस्पोन्स टिम सञ्चालनमा ल्याइने बताए ।

यस्तै २०८० सालभित्र जग्गा प्राप्त गरी भवन निर्माण कार्य शुभारम्भ गरिने, हाल सञ्चालित आश्रमको क्षमता विकास र गुणस्तर अभिवृद्धि गर्ने र भवन निर्माण सेवा सहज तरिकाले अगाडी बढाउन आर्थिक सङ्कलनका विभिन्न अभियाानहरु सञ्चालन गर्ने योजना मानव आश्रमको रहेको उनकाे भनाइ छ । उनले योजना मात्रै नभई आश्रममा विभिन्न समस्या तथा चुनौतीहरू समेत रहेको बताएका छन् ।

संयोजक गौतमले गुणस्तरीय सेवा प्रवाहको लागि सहयोगको आवश्यकता न्यून रहेको बताए । यस्तै स्रोतको अभाव र सेवालाई गुणस्तरीय बनाउन बाध्यात्मक अवस्था भएको र चाहे जस्तो सेवा दिन नसकेको गुनासो गरे ।

उनले कर्णाली प्रदेश सडकआश्रीत मानवमुक्त भए पनि उक्त कार्य प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताए । यस्तै ४० जनाको क्षमता भएको आश्रममा ८८ जनालाई सेवा दिइएको हुँदा सेवामा गुणस्तरीयता कायम हुन् नसकेकाे उनकाे भनाइ छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८० चैत १३ गते मंगलबार