२०८३ वैशाख ३ , बिहीबार

कर्णालीका ७४ पालिका दमकलविहीन, भएका पनि बिग्रेर थन्किए



फाइल तस्बिर

कुलेन्द्र शाही, सुर्खेत । गत असोज ५ गते मुगुको सदरमुकाम गमगढीस्थित तल्लो बजारमा आगलागी भयो । आगलागीबाट चार करोडभन्दा बढी क्षति भयो । आगलागीबाट ८ घर सहित ९ पसल जलेर खरानी भए । आगलागीबाट पुतली मल्ल, प्रदीप रावल, पञ्च सेजुवाल, साल्तोना खत्री, जङ्ग ऐडी, सोनाम लामा र तार्के लामाका घर पदमराज मल्लको टिनको टहरा जलेर खरानी भए ।

सदरमुकाम मुटुमा रहेका घर र व्यवसाय भएकाले करोडौँको क्षति भए । तर सदरमुकाममै आगो नियन्त्रणका लागि दमकल लगायतका सामाग्री नहुँदा ठुलो मात्रामा क्षति हुन पुग्यो । यस्तै गत चैत ३ गते कालीकोटको खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक बनमा आगलागी हुँदा जलेर बाबु–छोरीको मृत्यु भयो ।

गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्दराम चौंलागाईं र उनकी छोरी हेमन्तीको जलेर मृत्यु भयो । कर्णालीमा आगो नियन्त्रण गर्नका लागि पर्याप्त मात्रामा सामाग्री नै नहुँदा समस्या भएको छ । ७९ वटा स्थानीय तह भएको कर्णाली प्रदेशमा ५ स्थानीय तहमा मात्रै आगो नियन्त्रणका लागि प्रयोग हुने दमकल छन् ।

कर्णालीका ७९  स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा मात्र दमकल भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यसमध्ये ४ वटा मात्रै सञ्चालनमा छन् भने एउटा दमकल बन्द छ । कर्णालीका ९९ प्रतिशत पालिकासँग दमकल नै छैनन् । ७९ स्थानीय तहमध्ये ७४ पालिका दमकलविहीन छन् ।

प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्गक

प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट नगरपालिका, दैलेखको नारायण नगरपालिका र जुम्लाको चन्दनाथ नगरपालिकासँग मात्रै दमकल छ । ती मध्ये भेरीगंगा नगरपालिकाको दमकल चल्ने अवस्थाको छैन । दमकल बिग्रेर थन्किएको भेरीगंगा नगरपालिकाका दमकल चालक मानबहादुर रावत बताउँछन् ।

दमकलको केही सामाग्री बिग्रेको हुँदा भारतबाट ल्याउन लगाएको उनको भनाइ छ । पाँच पालिकामा मात्रै दमकल छ भने अन्य ७४ स्थानीय तहसँग दमकल नभएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठुलो जनधनको क्षति हुनबाट रोक्न सकिने प्रहरीको भनाइ छ । तर जनप्रतिनिधिले भने निभाउन पर्याप्त स्रोत साधन नहुँदा दमकल खरिद गर्न नसकिएको बताउँछन् । स्रोत र साधनको अभावसँगै गाउँपालिकाभर दमकल पुग्ने सडक नभएका कारण खरिद गर्ने योजना नै नबनाएको पालिका प्रमुखहरूको भनाइ छ ।

छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले नगरपालिकामा दमकल नभएको नभएको स्वीकार गरे । उनले नगरपालिकाले विगतदेखि नै एम्बुलेन्स र दमकल खरिद गर्ने भनिए पनि सबै क्षेत्रमा एम्बुलेन्स र दमकल गुड्ने बाटो नभएकोले खरिद गर्न नसकेको बताए । उनले यस पटक भने एम्बुलेन्स खरिदको लागि टेन्डर नै आह्वान गरिसकेको बताए ।

उनले दमकलको लागि पनि केही पहल गर्ने प्रतिबद्धता जनाए । जनप्रतिनिधिले आफ्ना लागि सवारीसाधन खरिद गर्न चासो दिए पनि दमकल किन्न ध्यान नदिएको सर्वसाधारणको गुनासो छ ।कर्णालीमा वर्षेनी आगलागीका सयौँ घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौँ मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ ।

आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने देखिन्छ । चालु आर्थिक वर्षमा मात्रै कर्णालीका दश जिल्लामा गरी १ सय १३ आगलागीका घटना घटेका छन् । त्यसबाट करिब ९ करोड भन्दा बढी क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयले खबरदृष्टिलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि चैत १२ गतेसम्म आगलागीबाट ९ करोड १९ लाख २३ हजार ९ सय १० रुपैंया क्षति भएको छ ।

आगलागीबाट १० जनाको मृत्यु, ९ जना घाइते भएको प्रदेश प्रहरीका प्रवक्ता बीरवहादुर ओलीले जानकारी दिए । आगलागीमा परी ६१ घर, २४ गोठ तथा टहरा, २ उद्योग, २ विद्यालय, १ सरकारी कार्यालयको क्षति भएको र १० पशु चौपायाको मृत्यु भएको उनले बताए । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८० चैत १४ गते बुधबार