सुर्खेत। सुर्खेतमा खाद्यन्न लगायत अन्य सामाग्री किन्न बजार झर्नेहरूको अनुहारमा पहिले जस्तो उत्साह देखिँदैन। बरु चिन्ता र अन्योल देखिन्छ। वीरेन्द्रनगर–१० की माया बुढा शनिबार तरकारी किन्न मण्डी पसल पुगिन्। धनिया, टमाटरदेखि अन्य तरकारी किन्दै जाँदा उनले भाउ अस्वाभाविक रूपमा बढेको थाहा पाइन्। आवश्यक सबै सामान किन्न गएकी उनी मूल्य सुनेपछि धेरै कुरा नकिनेरै घर फर्किन बाध्य भइन्।
यस्तै अनुभव जाजरकोटका राजकुमार मगरको पनि छ। आइतबार खाद्यान्न किन्न बजार पुगेका उनी चामल, दाल, तेल किन्ने सोचमा थिए। तर मूल्य सुनेपछि योजना परिवर्तन गर्नुपर्यो। केही अत्यावश्यक सामान मात्र किनेर उनी घर फर्किए। ‘पहिले जस्तो सजिलो छैन, बजार जाँदा डर लाग्छ, उनी भन्छन्, मूल्य दैनिक बढिरहेको छ। यसरी बढ्दै गयो भने त बाँच्नै मुस्किल छ।, ‘यी दुई प्रतिनिधि पात्र मात्र हुन्। यतिबेला सुर्खेत मात्र होइन देशभर नै बढ्दो महँगीले उपभोक्ताको ढाड सेकिरहेको छ।
खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थदेखि खाना पकाउने ग्याससम्म सबैको मूल्य उकालो लाग्दा सामान्य आम्दानी भएका परिवारलाई दैनिक जीवन चलाउनै मुस्किल परेको छ। वीरेन्द्रनगरमै अटो चलाउँदै आएका दैलेखका प्रेम विकको पीडा झन् दुःखदायी छ। उनले तेलको भाउ बढेको तर यात्रुहरू भने पुरानै भाडा दिन खोज्ने गरेको बताए। ‘तेल बढेर २०० कटिसक्यो। तर यात्रुहरू भने पुरानै भाडा दिन खोज्छन् । उनी भन्छन्, ‘भाडा बढाउन खोज्दा झगडा हुन्छ। १ हजार रुपैयाँको पेट्रोल एक घण्टा पनि टिक्दैन।,’ उनले थपे, ‘अहिले त आम्दानीभन्दा खर्च बढ्दै गएको छ। घर कसरी चलाउने भन्ने चिन्ता लाग्छ।,’
बजारका व्यवसायीहरू पनि ग्राहक र आफूहरुको सम्बन्ध राम्रो नभएको बताउँछन्। आफूहरूले मनपरी मूल्य बढाएका नभई माथिबाटै मूल्य बढेर आउँदा यहाँ आएका ग्राहक गाली गर्ने गरेको बताउँछन्। वीरेन्द्रनगर–८ मा पसल सञ्चालन गर्दै आएका जयबहादुर थापाले पश्चिम एसियामा भइरहेको युद्धको असर यहाँसम्म परेको बताए। ‘हामीले पनि महँगै किन्नुपर्छ, त्यसैले महँगै बेच्नुपर्छ।, उनले भने, ‘तर यहाँ आएका ग्राहक हामीलाई मनपरी मूल्य बढाएको भनेर गाली गर्छन्।,’
उनका अनुसार जिरा, धनियाँजस्ता मसलादेखि चामल, दालसम्म सबैको मूल्य बढेको छ। ग्राहकहरू भने व्यापारीलाई नै दोष दिने उनको भनाइ छ। नेपाल खुद्रा व्यापार संघका अनुसार हाल सबै सामानको मूल्य निरन्तर बढिरहेको छ। बजारमा खाद्यान्न मात्रै होइन तरकारीको मूल्य सबै बढेको छ। मौसमी उत्पादन, आपूर्ति समस्या र ढुवानी खर्च बढ्दा तरकारीको भाउ ‘छुनै नसक्ने’ भएको उपभोक्ताको गुनासो छ।
नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले पनि खाद्य तथा पेय पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको देखाएको छ। महँगीको मारमा उपभोक्ता, व्यवसायी र सेवा प्रदायक छन्। एकातिर अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति शृङ्खला अवरोधले असर पारिरहेको छ भने अर्कोतिर आन्तरिक बजार व्यवस्थापनको कमजोरीले जसले दैनिक जीवन धान्न निकै मुस्किल परेको छ।