
सुर्खेत। जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई तीन जना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजेको समयमा नलगाड नगरपालिका–२ छेप्कास्थित थालु प्रसाद जैशीको भान्सा कोठामा उक्त घटना भएको हो।
ग्यास लिक भएको अवस्थामा उनकी श्रीमती ४२ वर्षीया माया जैशीले लाईटरले आगो बाल्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई जनाएको छ। आगलागीमा परी माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिए।
उनका अनुसार घाइतेहरूको नलगाड नगर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आगलागी नियन्त्रणमा आएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार