
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाभित्र रहेका सबै विद्यालयमा शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै पूर्ण सेट पाठ्यपुस्तक पुगेको छ। गाउँपालिकामा रहेका जम्मा ४१ वटा विद्यालयका लागि बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी नयाँ पाठ्यपुस्तक पुगेको हो।
गाउँपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख मान बहादुर बस्नेतका अनुसार शैक्षिक सत्र २०८३ का लागि आवश्यक बजेटमध्ये ७५ प्रतिशत रकम शिक्षा शाखाले सम्बन्धित विद्यालयहरूको खातामा निकासा गरिसकेको छ। उनले पुस्तक वितरणको संख्या हेर्दा कक्षा १ का लागि २०० सेट, कक्षा २ का लागि २२०, कक्षा ३ का लागि २०५, कक्षा ४ का लागि २५० र कक्षा ५ का लागि २२० सेट पाठ्यपुस्तक विद्यालयलाई उपलब्ध गराएको बताए।
यस्तै कक्षा ६ का लागि २५०, कक्षा ७ का लागि २७५, कक्षा ८ का लागि ३०६, कक्षा ९ का लागि ३०० र कक्षा १० का लागि ३२५ सेट गरी कुल २ हजार ५५१ सेट पाठ्यपुस्तक उपलब्ध गराइएको उनको भनाइ छ। शैक्षिक सत्र सुरु भएसँगै प्रत्येक विद्यालयमा पाठ्यपुस्तक वितरण गरिने र विद्यार्थी संख्या बढेमा आवश्यक थप पुस्तक पुनः ल्याइने समेत बस्नेतले जानकारी दिए।