
प्रदेश कार्यालयको गोदाममै थन्किएका पाठ्यपुस्तक
कुलेन्द्र शाही, सुर्खेत । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयको गोदाममै पाठ्यपुस्तक थन्किएका छन् । कर्णालीका सबै जिल्लामा पुग्ने गरी कार्यालयमा पाठ्यपुस्तक आएपनि थोक बिक्रेताले जिल्ला जिल्लामा पाठ्यपुस्तक नलग्दा प्रदेश कार्यालयको गोदाममै पाठ्यपुस्तक थन्किएका हुन् ।
प्रदेश कार्यालयमा आएर पाठ्यपुस्तक विक्रेताहरुले नलिएका कारण जिल्लाहरुमा पुस्तक पुग्न नसकेको जनक शिक्षा सामाग्री कर्णालीका प्रमुख भैरवबाबु पन्तले खबरदृष्टिलाई बताए । उनकाअनसार केन्द्रको तालिका बमोजिम चैत ९ गतेदेखि पुस्तक वितरण सुरु गरिएको थियो । यो आर्थिक वर्षको लागि आवश्यक पर्ने दश लाख थान पुस्तक गोदाममा ल्याइसकेको उनले बताए ।
जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गर्ने कार्य योजना बनाएपनि उक्त कार्य योजनाभित्र किताव ढुवानी हुन सकेको छैन । कार्य योजना अनुसार चैत ९ गतेदेखि १४ गतेसम्म हुम्ला र डोल्पा, चैत १५ गतेदेखि १६ गतेसम्म मुगु, १७ गतेदेखि १८ गतेसम्म जुम्ला, १९ गतेदेखि २० गतेसम्म कालीकोट, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट, २३ गतेदेखि २४ गतेसम्म दैलेख र २५, २६, २७ गते तीन दिन सुर्खेतमा पुस्तक वितरण गरिने उल्लेख छ ।
बिक्रेताले पाठयपुस्तक लिन नआएपछि तोकिएको तालिका अनुसार जिल्ला–जिल्लाका पुस्तक ढुवानी हुन सकेको छैन । केही छिटफुट मात्रामा गएपनि भारी मात्रामा पाठ्यपुस्तकहरु ढुवानी हुँन बाँकी रहेको छ । जनक शिक्षा सामग्री केन्द्रले जिल्ला–जिल्लाका लागि पुस्तक वितरण तालिका समेत सार्वजनिक गरेको भएपनि सोही अनुसार पुस्तक वितरण हुन नसक्दा समस्या भएको प्रमुख पन्तले बताए । दुर्गम तथा हिमाली जिल्लालाई प्राथमिकतामा राखेर बनाइएको कार्यतालिका फेल भएको छ ।
जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतबाट हुम्लाका दुईवटा मात्र स्थानीय तहले पुस्तक लिएका छन् । दुई पालिकामा गरी ६ सय सेट पुस्तक मात्र हुम्ला जिल्लामा पुगेको छ । अहिलेसम्म मुगुमा पुस्तक गएको छैन । हालसम्म दैलेखमा तीन पुस्तक बिक्रेतामार्फत् दुई हजार तीन सय सेट, सुर्खेतमा दुई पुस्तक बिक्रेतामार्फत् एक हजार एक सय सेट, कालीकोटमा एक हजार सेट, जुम्लामा पाँच सय सेट, जाजरकोटमा दुई पुस्तक बिक्रेतामार्फत् ६ सय सेट पुस्तक मात्र पुगेको छ ।
करिब ६ हजार दुई सय सेट मात्र पाठ्यपुस्तक जिल्ला–जिल्लामा पुगेको छ । गोदाममा पर्याप्त किताब भएपनि बिक्रेता किताब लिन नआएको कार्यालय प्रमुख पन्त बताउँछन् । सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ । अहिलेसम्म जनक शिक्षाले पुस्तक छाप्ने र व्यवसायीमार्फत् विद्यालय–विद्यालयमा पु¥याउने गरिएको छ ।
ढुवानी, व्यवसायी र विद्यालयकाबिचको आर्थिक समस्याले गर्दा विद्यार्थीले समयमा पुस्तक पाउन ठूलो संघर्ष गर्नुपर्छ । डोल्पाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर बस्नेतले झन्झटिलो प्रक्रियाका कारण पाठ्यपुस्तक बालबालिकाको हातहातमा पुग्न ढिलाइ हुने गरेको बताए । डोल्पाका चार वटा स्थानीय तहले फागुनदेखि नै नयाँ शैक्षिक सत्र आरम्भ गरेको भन्दै उनले जिल्लामा फरक–फरक समयमा शैक्षिक सत्र सुरु हुने गरेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सुर्यबहादुर खत्रीले स्थानीय निकायले किताबका लागि रकम निकासमा ढिलाइ गर्दा बिक्रेताले किताब समयमा नै ल्याइनपू¥याउने गरेको बताए । जनक शिक्षाको प्रदेश कार्यालयमा रकम जम्मा गरेपछि मात्र पाठ्यपुस्तक पठाउने गरिएको छ । विक्रेताहरुले भने स्थानीय तहले रकम नदिएका कारण आफूहरुले नयाँ किताव ढुवानी गर्न समस्या भएको बताएका छन् ।
अहिलेसम्म प्रदेशको गोदामबाट २० प्रतिशत पाठ्यपुस्तक मुस्किलले पुगेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेकाले यो वर्ष पाठ्यपुस्तक अभाव नहुँने कार्यालयको भनाई छ । कर्णालीका सबै जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक उपलब्ध गराए पनि स्थानीय तहले खरिदमा बेवास्ता गरेको उनको भनाइ छ ।
उनले खरिद प्रक्रियामा कर्णालीका सबै स्थानीय तह र विद्यालयहरुले कुनै चासो नदिएका बताए । प्रमुख पन्तले यो वर्ष दश लाख थान पाठ्यपुस्तक गोदाममा आइपुगेको छ । भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको भएपनि हालसम्म सबै पाठ्यपुस्तक बिक्रेताहरु केन्द्रमा लिन नआएको उनले बताए । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला लगायतका जिल्लामा नेपालगञ्जबाट ढुवानी भइरहेको छ ।