
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
दुई वटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले तत्कालीन पर्यटनमन्त्री शाहीसहित नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यस्तै अख्तियारले शिशिर ढुंगाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौली र अच्युतराज पहाडीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता छन् । २०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शाही पर्यटन मन्त्री बनेका थिए ।
उनी पर्यटनमन्त्री भएका बेला दुई वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । अख्तियारले विशेष अदालतमा बुझाएको आरोपपत्र नै २३३ पेज लामो छ।