२०८३ वैशाख १३ , आइतबार

सडक बत्तीको लाइन काट्दा वीरेन्द्रनगर बजार क्षेत्र अन्धकार



वीरेन्द्रनगर बजार

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर गत एक हप्तादेखि अन्धकार बन्न थालेको छ । लामो समयदेखि विद्युतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले सडक बत्तीको लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकायसमेत अन्धकार बनेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत वितरण केन्द्रको बक्यौता रकम भुक्तानी नगरेपछि प्राधिकरणले गत सातादेखि सडक बत्तीको लाइन काट्न सुरु गरेको छ । वितरण केन्द्रले वीरेन्द्रनगर नगरपालिकाअन्तर्गतका धेरैजसो सडक बत्तीको लाइन काट्न थालेको सुर्खेत वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले सिद्धदर्शन दैनिकलाई जानकारी दिए ।

वितरण केन्द्र सुर्खेतले लाइन मात्रै काट्ने नभई सडकमा राखिएका बत्तीका बल्बसमेत निकाल्न थालेको छ । नगरपालिकाले विसं २०७३ सालदेखि सडक बत्तीको बक्यौता रकम नबुझाएपछि लाइन नै काट्नुपरेको वितरण केन्द्रले जनाएको छ । लामो समयदेखिको सडक बत्तीको बक्यौता रकम नबुझाउँदा लाइन काटिएको आफूहरू बाध्य भएको सूचना अधिकारी नेपालीले बताए ।

उनले नगरपालिकालाई बक्यौता रकम तिर्न पटक पटक ताकेता गर्दा पनि नगरपालिकाले बेवास्ता गरेपछि बाध्य भएर सडक बत्तीको लाइन काट्नुपरेको बताए । उनकाअनुसार नगरपालिकाले २०७३ सालयताको सडक बत्तीको बक्यौता रकम करिब ५ करोड तिर्न बाँकी छ । प्राधिकरणले सडक बत्तीको लाइन काट्न वडा वडामा कर्मचारी समेत खटाएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं.२,३,४,५,७,८ लगायतका मुख्य सडकका पोलका चिम पनि निकालिएको छ । बक्यौता तिर्न नगरपालिकालाई पत्राचार गरिए पनि पत्राचारको कुनै जवाफ नदिएर अटेर गरेको आरोप उनको छ । यता नगरपालिकाले भने सडक बत्तीको बक्यौता रकम तिर्न बाँकी रहेको स्वीकार गरेको छ ।

नगरपालिकाका लेखापाल हरी क्षेत्रीले सडक बत्तीको रकम नगरपालिकाले नतिरेको स्वीकार गरेका हुन् । ‘ केही वर्ष पहिले सडक बत्तीको रकम सङ्घीय सरकारले तिर्दै आएको थियो, पछि गएर फेरि नगरपालिकाले तिर्नुपर्छ भन्ने कुरा भयो, त्यसपछि नगरपालिकाको सामर्थ्य पनि कम भयो, २०७३ सालदेखि हामीले तिरेका छैनौँ’ उनले भने, ‘लेखापाल क्षेत्रीले विद्युत् प्राधिकरणले पनि नगरपालिकाका जुनसुकै ठाउँमा पनि विद्युतका पोल गाडे बापतको रकम दिनुपर्ने बताए ।

‘हामीले सडक बत्तीको रकम तिर्नुपर्छ भने उनीहरूले पनि नगरपालिकाको जुनसुकै ठाउँमा पनि पोल गाडेको, तारहरू राखेको रकम तिर्नुपर्छ ।’ उनले भने, ‘त्यसको लागि नगरपालिकाले ऐन कानुन बनाउँदै छ । त्यसपछि हामीले हाम्रो हिसाब गर्छौ, उहाँहरूले आफ्नो हिसाब गर्नुहुन्छ,’ यस्तै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ठ खनालले प्राधिकरणको बक्यौता भुक्तानी गर्ने विषयमा नगर सभाबाटै निर्णय गरिने बताए ।

नगरपालिका र वितरण शाखा सुर्खेतको निरन्तर जुहारी चलिरहेको छ । नगरपालिकाले प्राधिकरणसँग रकम उठाउने बताउँदै आएको छ भने प्राधिकरणले नगरपालिकासँग सडक बत्तीको बक्यौता रकम उठाउने दाबी गरेको छ । प्राधिकरणका वितरण शाखा मात्रै नभई केन्द्रीय कार्यालयले समेत सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी दिएको छ ।

यसबाट सर्वसाधारणमा पर्ने असरप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले १६ चैतमा एक सूचना प्रकाशित गरेको थियो । जसमा महसुल बुझाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको थियो ।

केही तहले महसुल बुझाएको भए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले शुक्रवार यस्तो चेतावनी दिएको हो । प्राधिकरणका अनुसार केही स्थानीय तहले भने रितपूर्वक ग्राहक बनेर सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानीको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८० चैत २४ गते शनिबार