
डोल्पा । डोल्पामा आइतबार मध्याह्न लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जवान गम्भीर घाइते भएका छन् । सदरमुकाम दुनैस्थित मष्टा भवानी सामुदायिक वनमा आइतबार लागेको आगो निभाउने क्रममा देविदत्त ब्यारेकका चार जवान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।
घाइते हुनेहरुमा २३ वर्षीय आंशिक बुढा, ३८ वर्षीय जम्दार केशव बहादुर दर्गा मगर, ३० वर्षीय पियूठ विजय कोइराला र २८ वर्षीय जवान हेमन्त रावत रहेका छन् । घाइते भएकाहरुको जिल्ला अस्पताल डोल्पामा उपचार सम्भब नभएपछि हेलिकप्टरमार्फत पहिलो चरणमा बुढा र कोइरालालाई नेपालगञ्ज पठाइएको डीएसपी केसीले बताए ।
दोस्रो चरणमा अन्य दुई जनालाई पठाउने तयारी रहेकोसमेत उनले जानकारी दिए । आइतबार दिउँसो भदाले ब्यारेकमा सेनाले सरसफाइ गर्ने क्रममा फोहोर जलाउँदा अत्यधिक हावाहुरीका कारण मष्टा भवानी सामुदायिक वनमा आगो सल्किएको थियो ।